पूजा खड्का
स्याङ्जा, २४ जेठ । आँधीखोला गाउँपालिकामा लागू पदार्थ दुर्व्यसन सचेतना र न्यूनीकरण सम्बन्धी कार्यक्रम शुक्रबार आँधीखोला गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रम आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पौडेलले लागू पदार्थ दुर्व्यसन न्यूनीकरणको लागि सचेतना आवश्यक रहेको बताउनुभयो। उहाले आउँदो आर्थिक वर्ष देखि विद्यार्थीको चाहना बमोजिम विद्यार्थीको मानसिकता ताजगी बनाउनको लागि हेप्पी फ्राइडे मनाउने व्यवस्था गरिने बताउनुभयो। यसबाट विद्यार्थी हरुको मानसपटलमा ताजगी आउने जानकारी गराउँदै सृजनात्मक क्षेत्रमा योगदान रहने बताउनुभयो। विद्यार्थीहरुमा नकारात्मक विचार अन्त्य गर्न सहज हुने बताउँदै सकारात्मक सन्देश प्रवाह गर्नमा प्रोत्साहन मिल्ने पौडेलले बताउनुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक दधिराम न्यौपानेले लागू पदार्थ दुर्व्यसन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै लागू पदार्थ दुर्व्यसनले समाजमा समस्या निम्त्याउने अपराधका घटना बढ्ने बताउनु भयो। यसको लागि हामी सबै सजग रहन आवश्यक रहेको बताउनुभयो।
त्यसै गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रजिअ तथा सूचना अधिकारी दीपक पौडेलले लागू पदार्थ सम्बन्धी कार्य पत्र प्रस्तुत गर्दै साथी संगत देखासिकी र मनोरञ्जनको कारण लागू पदार्थको दुव्र्यसनको फस्ने बताउँदै पछि लत बन्दै जाने र पैसा जुटाउन नसक्दा चोरी हिंसा अपराधका घटना बढ्दै जाने र स्वास्थ्य सम्बन्धी समस्या बन्दै जाने बताउनुभयो। यसको लागि कारण समाधान र सजगता मा ध्यान पुर्याउन हामी सबैको दायित्व भएको हुँदा समय मा नै घर परिवार समाज संस्था सजग रहेर सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रम प्र जि अ इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रम मा उपप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा, जिल्ला सुरक्षा समिति पदाधिकारी, गाउँपालिका का जनप्रतिनिधिहरु, विद्यालय का प्रधानाध्यापक हरु सामाजिक विषय पढाउने शिक्षक हरु, युवा क्लब का प्रतिनिधि तथा सदस्य कक्षा ८ देखि १० सम्म का विद्यार्थीहरु, अभिभाबक मा समुह का प्रतिनिधि तथा सदस्य हरुको सहभागिता रहेको थियो।