काठमाडौं ,३० जेठ। भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्को विवाद भएको छ ।
सिंहदरबारमा शुक्रबार बसको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरुले आपत्ति जनाएपछि चर्को विवाद भएको हो ।
बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफुहरुले छानविन समितिको माग गरको धारणा राख्नुभयो । उहाले संसदीय समितिमा मानवतस्करी विरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह्वीप मानेर निरिह बनेर बस्ने गरेको टिप्प्णी गर्नुभएको थियो । सांसद पराजुलीले भिजिट भिसा प्रकरणको बिषय समितिमा प्रवेश गरिसकेकाले गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग समेत गर्नुभयो । भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो ? भन्दै उहाले प्रश्न गरेपछि सत्तापक्ष सांसदहरुले आपत्ति जनाएका थिए ।
नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरण अख्तियारले छानविन गरिरहेकाले समितिको बिषय नभएको बताउनुभएको थियो । उहाले बिषयबस्तुभन्दा बाहिर गएर पराजुलीले धारणा राखेको भन्दै रुलिङ गर्न माग गर्नुभयो ।
विवाद भएपछि समिति सभापति अव्दुल खानले बिषयबस्तुभित्र रहेर धारणा राख्न आग्रह गर्नुभएको थियो । सांसद पराजुलीले आफ्नो समयभित्र बिषयबस्तु राख्दा आपत्ति हुनुपर्ने कारण स्पष्टसंग चाहिने बताउनुभयो । त्यसपछि पुन कांग्रेस सांसद थापाले आफुहरुलाई निरिह भनेको भन्दै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्नुभयो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद कृष्ण कुमार श्रेष्ठ मानवतस्करीको विरोध आफुहरुले पनि गरेको भन्दै रास्वपा मात्रै यसको ठेकदार हो ? भन्दै आक्रोशित हुनुभएको थियो । रास्वपा सांसद पराजुलीले मानवतस्करीबिरुद्ध सवैको एकमत भए छानविन समिति गठन गर्न चूनौति दिनुभयो ।
पुन विवाद बढेपछि सभापति अव्दुल खानले पराजुलीले बिषयबस्तुभन्दा बाहिर गएर अभिव्यक्ति राखेकाले विवाद भएको भन्दै विवादका बिषयमा छानविनका लागि समिति नै गठन गर्नुपर्ने प्रस्ताव राख्नुभयो । त्यसपछि आफुले बोलेको बिषयमा नै छानविन समिति गठन गर्ने सभापतिको प्रस्तावप्रति सांसद पराजुलीले आपत्ति जनाउनुभएको थियो । त्यसपछि फेरी विवाद भएपछि सभापति खानले बिषयबस्तुमा बोल्न आग्रह गर्नुभएको थियो ।
अन्तिममा सांसद पराजुलीले मानव तस्करी प्रकरणमा समितिमा छलफल गर्नुपर्ने र गृहमन्त्री र श्रममन्त्री आएर जवाफ दिनुपर्ने माग दोहराउनुभएको थियो ।