काठमाडौँ ,३० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न नहुने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल विधुत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन उद्घाटन गर्दै कोइरालाले विद्युत प्राधिकरणको बक्यौता छिटो भन्दा छिटो उठाउनुपर्ने बताउनुभएको हो । बक्यौता उठाएन भने प्राधिकरण र देशको अवस्था नाजुक हुने उहाले बताउनुभयो । उठाउनुपर्ने पैसा चाहिँ नउठाउने अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने कुरा गलत भएको उहाको भनाइ छ । प्राधिकरणले व्यवसायीक घरानाबाट कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने देखिएको उहाले बताउनुभयो । कोइरालाले भिजिट भिसामा विदेश जाने नागरिकसंग अध्यागमनका पैसा माग्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्नुभया । देशभित्र रोजगारीका अवसर सिर्जना गर्न नसकेको अवस्थामा खुलमखुला भिजिट भिसामा जान दिनुपर्ने कोइरालाले बताउनुभयो ।
कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले विद्युत ऐन चाँडो संसदबाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिस्कृत गर्दै लैजाने बताउनुभयो । उहाँले स्रोत माथिको अधिकार सबै नागरिकको बराबर हुने भएकाले गरिब तथा विपन्न नागरिकलाई जलविद्युत शेयरमार्फत समृद्ध बनाउन सरकार लागिरहेको बताउनुभयो ।
मन्त्री खड्काले वजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि उर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिनुभयो । सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पुरा गर्न प्राधिकरणका कर्मचारीको ठूलो मेहनत आवश्यक रहेको उहाले बताउनुभयो ।