काठमाडौ,२१ असार । नेकपा माओवादी केन्द्र लगाएका दलहरुले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसका बिरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेका छन् ।
माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) लगाएतका दलहरुको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिनुभयो ।
प्यालेष्टाइनीमाथिको बर्बरतापूर्ण इजराइली नरसंहारको विरोधमा विरोध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका बिषयमा छलफल भएको उहाले बताउनुभयो ।
इजरायलको विरूद्ध माओवादी सहितका दलहरू विरोधमा उत्रिएको जानकारी गराउदै गुरुङले अन्य दलसंग पनि छलफल अघि बढाइने धारणा राख्नुभयो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेललगायत नेताहरु सहभागी थिए ।