सन्दीप लामिछाने ‘डेनिम एन्ड डेभिल्स’को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त

२०८२ असार २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,२७ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने लोकप्रिय क्लोथिङ ब्रान्ड ‘डेनिम एन्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडरमा पुनः नियुक्त हुनुभएकाे छ । बिहीबार काठमाडौंको होटल हिमालयमा आयोजित एक विशेष समारोहमा सन्दीप र कम्पनीबीच तीन वर्षे सम्झौतामा हस्ताक्षर भएको हो।

यो सहकार्यलाई कम्पनीले ‘रिसाइन्ङि’ (पुनः सम्झौता) को संज्ञा दिएको छ, किनकि सन्दीप यस ब्रान्डसँग जोडिने पहिलो एम्बेसडर पनि हुनुहुन्थ्याे । सम्झौता समारोहमा बोल्दै डेनिम एन्ड डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) घनश्याम काफ्लेले सन्दीपसँगको सहकार्यले पुनः निरन्तरता पाएकोमा खुशी व्यक्त गर्नुभयाे। ‘आजको कार्यक्रम साइनिङ सेरेमोनीभन्दा पनि ‘रिसाइन्ङि सेरेमोनी’ हो,’ काफ्लेले भन्नुभयाे, ‘हाम्रो ब्रान्डको पहिलो एम्बेसडर नै सन्दीप हुनुहुन्थ्यो। बीचमा केही कारणले रोकिएको सहकार्य फेरि सुरु भएको छ। ढिलै भए पनि यो यात्रा अघि बढेको छ।’

सीईओ काफ्लेले सन्दीप आफैँमा एक स्थापित ब्रान्ड भएको र उहाँको उपस्थितिले कम्पनीलाई थप उचाइमा पुऱ्याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयाे । ‘सन्दीपको बारेमा धेरै भनिरहनुपर्दैन। उहाँ आफैँमा एक ब्रान्ड हुनुहुन्छ। सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी भएकाले उहाँलाई एम्बेसडर बनाउँदा कम्पनीलाई पनि फाइदा पुग्ने विश्वास छ,’ उहाँले थप्नुभयाे।

कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेले डेनिम एन्ड डेभिल्ससँगको आफ्नो सम्बन्ध व्यावसायिक मात्र नभएर पारिवारिक रहेको बताउनुभयाे। ‘उहाँहरूसँग मेरो लामो कथा छ। सन् २०१८ मा घनश्याम दाईसँग भेट भएपछि सुरु भएको सहकार्यको यात्रा आफैँमा सुन्दर थियो,’ सन्दीपले आफ्नो अनुभव सुनाउनुभयाे, ‘उहाँहरूले मलाई सधैँ परिवारको सदस्यजस्तै व्यवहार गर्नुभएको छ। यो तीन वर्षको लागि मात्र होइन, म यो सहकार्यलाई अझै लामो समयसम्म अगाडि बढाउन चाहन्छु।’

सन्दीपले डेनिम एन्ड डेभिल्सले अब पुरुषका लागि मात्र नभई युनिसेक्स (महिला र पुरुष दुवैका लागि) कपडा पनि बजारमा ल्याउन लागेकोमा बधाई दिँदै यसले ब्रान्डलाई अझ फराकिलो बनाउने बताउनुभयाे।

सम्झौता तीन वर्षको लागि भए पनि दुवै पक्षले आर्थिक पाटो भने खुलाएका छैनन्। डेनिम एन्ड डेभिल्सले उच्च गुणस्तरका जेन्स तथा युनिसेक्स कपडाहरूको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय