काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने

२०८२ श्रावण २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२ साउन ।  प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार बिकास समितिले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको निर्माण समयमा नै सम्पन्न गर्ने गरि पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज खण्डको निर्माण कार्य निकै सुस्त भएको भन्दै समयमा नै निर्मण सम्पन्न गर्ने गरि पहल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । साथै कलंकी–महाराजगञ्ज खण्डमा ढुंगेधारा अण्डरपास लगाएतका संरचना थप गर्न र नेपाल सरकारले गर्नुपर्ने काम छिटो सम्पन्न गर्न समेत बैठकले निर्देशन दिएको छ । बैठकले सिंगो चक्रपथ एउटै स्तरमा निर्माण गर्न कलंकी–महाराजगञ्ज खण्डको स्तरोन्नतीका लागि बजेट व्यवस्थापन लगाएत आवश्यक प्रक्रिया अघि बढाउन समेत मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव उदय कुमार भण्डारीले जानकारी दिनुभयो । बैठकले देशैभरका दुई जिल्ला जोड्ने सडक तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको उहाले बताउनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्ड चीन सरकारको सहयोगमा निर्माण कार्य अघि बढेको बताउनुभयो । कलंकी–महाराजगञ्ज खण्डको केहि स्थानमा सडक विस्तारका लागि मुआव्जाको विवादका कारण समस्या देखिएको उहाले जानकारी दिनुभयो । उहाले काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको समेत धारणा राख्नुभयो ।

त्यस्तै बैठकमा समिति सदस्यहरुले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज खण्ड समयमा नै निर्माण हुन नसकेकाले सो क्षेत्रमा बस्ने नागरिकहरुले धुलो धुवा र हिलोको सास्ती बेहोर्नुपरेको भन्दै चक्रपथको सडक विस्तारलाई तीव्रता दिनुपर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय