काठमाडौं ११ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।
आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।