बाँझो जमिनमा खेती गर्नेलाई २ हजार

२०८२ श्रावण १८, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रकाश डोटेल
स्याङ्जा, १८ साउन । स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउने नीति अवलम्बन गरेको छ । नीति अनुसार बाँझो जमिन उपयोग गर्ने कृषकलाई प्रतिरोपनी २ हजार अनुदान दिने भएको छ । नगरपालिकाले उक्त कार्यक्रमसँगै कृषि मार्फत समृद्ध नगर बनाउने अभियान अघि बढाएको छ ।

जमिन बाँझो राख्ने कार्यलाई निरुत्साहित गर्दै खेतीमा आर्कषण बढाउन नगरपालिकाले उक्त नीति लिएको हो । बाँझो जमिनमा खेती गर्ने नीतिमा कृषकलाई प्रतिरोपनी २ हजार नगद अनुदान उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयाे ।

‘पैसा कमाउनका लागि शहर तथा बिदेश जाने क्रम बढेसँगै यहाँका धेरै जग्गा जमिन बाँझो हुँदै गयो ।’ प्रमुख रेग्मीले भन्नुभयाे, ‘यहाँ बसेर फलफूल तथा तरकारी उत्पादन गर्नेले राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने उदाहरणहरु पनि धेरै छन् ।’ नगरको संभाब्यता अध्ययन गरी आर्थिक वर्ष २०८२÷०८३ बाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको रेग्मीले बताउनुभयाे ।

नगरपालिकाले संघ, प्रदेश सरकारसँगको साझेदारीमा पशु, उद्यम, कृषि, पर्यटनका क्षेत्रमा सहयोग पुग्नेगरी रोजगारी ब्यवस्था गर्ने जनाएको छ । कृषिमा आधुनिकीकरण, यान्त्रिकरण, सिंचाई, माटो परिक्षण, कृषक सूचिकृत, ‘एक वडा, एक नर्सरी’ कार्यक्रम संचालन गर्र्न कृषक लक्षित कार्यक्रम समाबेश गरेको नगरपालिकाले जनाएको छ ।

जिल्लामा सुन्तला, कफीसँगै मौसमी तथा बेमौसमी तरकारी, मकै, धान, कोदो, अदुवा अत्यन्तै उत्पादन हुने कृषि उपज हुन । जिल्लाका ११ पालिकामध्ये पुतलीबजारमा धेरै सुन्तला उत्पादन हुने पाखोबारी समेत सुन्तलाका मौसममा पहेंलपुर देखिन्छन् । एउटै वडामा करोडौ मुल्यका सुन्तला फल्ने र बिक्री वितरण हुँदै आएको छ ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरी नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने पालिकाको उद्देश्य रहेको नगर उपप्रमुख देवी अर्यालले बताउनुभयाे । निर्वाहमूखी कृषकलाई मौसम अनुसारका फलफूल, तरकारी र खाद्यान्नमा गुणस्तरीय बीउबिजन, बिरुवा, कृषि औजार तथा उपकरणलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने नीति नगरपालिकाले अगाडी सारेको छ ।

नगरपालिकाले पुतलीबजारलाई सुन्तला शहरको रुपमा विकास गर्न सुन्तलाको उत्पादन, गुणस्तरको ब्यवस्थापन र बजारीकरणमा समेत सहज बनाउने नीति लिएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुङ्गनाले बताउनुभयाे। उत्पादित सुन्तलाको बहुआयामिक उपयोगमा ल्याउन नगरपालिकाले ध्यान केन्द्रित गरेको ढुङ्गानाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय