क्रान्ति अर्याल
स्याङ्जा ,१९ साउन । सामाजिक सेवामा निरन्तर सक्रिय गल्याङ जेसीजले नेपाल जेसीजबाट “गोल्ड अवार्ड” प्राप्त गर्दै आफ्नो पहिचानलाई राष्ट्रिय स्तरमा थप सशक्त बनाएको छ । वर्ष २०२५ मा संस्थाले पुर्याएको सामाजिक योगदान, प्रभावकारी नेतृत्व र युवामैत्री कार्यक्रमहरूको मूल्याङ्कन गर्दै नेपाल जेसीजले यो सम्मान प्रदान गरेको हो ।
वि.सं. २०७५ मा स्थापना भएको गल्याङ जेसीजले ‘समाजका लागि नेतृत्व’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै गल्याङ नगर र आसपासका क्षेत्रका युवाहरूलाई संगठित गर्दै आएको छ । १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको सक्रिय सहभागिता संस्थाको मूल आधार बनेको छ ।


संस्थाले सामाजिक समावेशिता, स्थानीय संस्कृति संरक्षण, महिला सशक्तिकरण, युवा नेतृत्व विकास, शिक्षा प्रवर्द्धन, स्वास्थ्य सचेतना र वातावरण संरक्षणजस्ता क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
श्रमिक सम्मान, माता सम्मान, विद्यालयमा सामग्री वितरण, सहिद दिवसमा दीप प्रज्वलन जस्ता गतिविधिहरूले संस्थालाई जनभावनासँग जोड्ने काम गरेका छन् ।
धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धन, आकस्मिक रक्तदान, विपद् व्यवस्थापन, उद्धारकार्य, वृक्षारोपण, बालमैत्री कार्यक्रम, खेलकुद सामग्री वितरण र नेतृत्व विकास तालिमहरू गल्याङ जेसीजको सक्रियता र सेवा प्रतिबद्धताको उदाहरण हुन् ।
नेपाल जेसीजले देशभरका शाखाहरूको कार्य प्रभाव, नवप्रवर्तन, अभिलेखिकरण र नेतृत्व क्षमताको समग्र समीक्षा गरी गल्याङ जेसीजलाई अनुकरणीय मानेर ुगोल्ड अवार्डुबाट सम्मानित गरेको हो ।
अध्यक्ष जेसी ज्ञानेन्द्र पाठकको नेतृत्वमा संस्था सुशासन, पारदर्शिता र नवाचारको दृष्टिकोण सहित अगाडि बढिरहेको छ ।
‘गोल्ड अवार्ड’ले संस्थालाई थप ऊर्जा र जिम्मेवारी दिएको छ । यस उपलब्धिलाई अवसरको रूपमा स्वीकार गर्दै गल्याङ जेसीजले आगामी दिनमा पनि समाज परिवर्तन, युवा सशक्तिकरण र स्थानीय विकासका अभियानमा अझ समर्पित रहने प्रतिबद्धता जनाएको छ ।
गल्याङको नामलाई राष्ट्रियस्तरमा चिनाउने काममा समर्पित गल्याङ जेसीज अहिले सामाजिक सेवाको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । जहाँ नेतृत्व केवल पदको लागि होइन, समाज परिवर्तनको लागि लिइन्छ ।