बिजुलीको ट्रान्सफरमर चोरी गर्ने गिरोह पक्राउ

२०८२ श्रावण २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर , २० साउन । कोशी प्रदेशको मोरङ, सुनसरी र झापामा संगठित रुपमा बिजुलीको ट्रान्सफरमर चोरी गर्ने गिरोहलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अपराध अनुसन्धान समूहले पक्राउ गर्न सफल भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संगठित र छुट्टाछुट्टै समूहमा रहेका उनीहरुले ०८१ माघ १५ गते यता झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट २२ वटा ट्रान्सफरमरहरु चोरी गरेको जानकारी दिएको हो ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक इश्वर कार्कीले लगातार र संगठित रुपमा ट्रान्सफरमर चोरी हुन थालेपछि प्रादेशिक अपराध अनुसन्धान समूह तथा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका ३५ जना प्रहरी अनुसंधानमा परिचालित गरेर चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको बताउनुभयो । ट्रान्सफरमरमा हुने तामा र तेलका कारण मुख्यतः चोरी गर्ने गरिएको पाइएको र सो चोरी गर्ने ७ जना सहित तामा किन्ने ५ जना गरी १२ जनालाई पक्राउ गरिएको उहाले बताउनुभयो ।

पक्राउ पर्नेमा मोरङ ग्रामथानका अर्जुन कुमार माझी, इरज माझी, मोरङ बेलबारीका अर्जुन चौधरी, रंजित तामाङ, सुनसरी दुहबीका अनुज विश्वास, प्रयाग कुमार खाँ चौधरी र भारतका आल मियाँ बिहारी रहेका छन् । यसैगरी चोरीको सामान खरिद गर्ने विराटनगरका लक्ष्य प्रधान, कृष्ण गोपाल ताम्राकार, दुहबीका योगेश अग्रवाल, कपिल भट्ट, सुनसरी इटहरीका सिताराम राई रहेका छन् । उनीहरुको घर र डेराबाट प्रहरीले करिब ३६८ किलो तामा, चोरी गर्न प्रयोग गरिएका औजार, चोरीमा प्रयोग गरिएका मोटरसाइकल र पिकअप गाडी बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय