काठमाडौं,२४ साउन। नेपाल शिक्षक महासंघकी सचिव कल्पना पनेरूले प्रतिनिधिसभाअन्तर्गतको अहिले संसदीय समितिमा छलफलका क्रममा रहेको शिक्षा विधेयक आफूहरुको लागि स्वीकार्य नरहेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उहाले उक्त विधेयक स्वीकार गर्न नसकिने र शिक्षक महासंघ आन्दोलनमा जानुपर्ने बताउनुभएको हो । उहाले शिक्षा क्षेत्र अत्यन्त अराजक अवस्थामा र मनोमानी ढंगले गुज्रिरहेको र पञ्चायतकालीन शिक्षा ऐनलाई आज गणतान्त्रिक भनिएको नेपालमा आ–आफ्नो अनुकूलतामा व्याख्या विश्लेषण गर्ने काम भइरहेको जिकिर गर्नुभयो । शिक्षा समितिले विधेयकलाई अघि बढाउदै गर्दा महासंघसँग विभिन्न मितिमा गरेको सम्झौतालाई नजरअन्दाज गरेको उहाको भनाइ छ ।


उहाले अस्थायीहरुको सवाल न्यायपूर्ण समायोजन हुनुपर्ने र ६० प्रतिशतमात्रै आन्तरिक प्रतिस्पर्धा आफूहरुलाई स्वीकार्य नरहेको स्पष्ट पार्नुभयो ।