प्रकाश डोटेल
स्याङ्जा, २५ साउन । वालिङ नगरपालिकाले विगत वर्षदेखि गर्दै आएको ‘नमुना’ फोहोरमैला व्यवस्थापनमा गरेको सकारात्मक प्रगति तथा सिकाई अनुभव आदानप्रदान गर्न बङ्गलादेशबाट एक अध्ययन टोली वालिङ आएको छ । बङ्गलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजिका प्राध्यापक सहितको छ जनाको टोली वालिङका आएको हो ।


बङ्गलादेशबाट आएको टोलीले फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट तथा नमुना काम गर्दै आएको वालिङको सरसफाइ केन्द्रको अवलोकन गरेको छ । टोलीले स्थलगत अवलोकनपछि व्यवस्थाको प्रक्रिया र असल अभ्यासको सिकाई आदानप्रदान गरेको छ ।
विशेषगरि दिशाजन्य लेदो फोहोर व्यवस्थापन पक्षको जानकारी लिन स्याङ्जाको वालिङ आएको टोलीका प्रमुख प्रा.डा. रवश्हन मुम्ताजले बताउनुभयाे । अवलोकन भ्रमणले फोहोर व्यवस्थापनमा गरिने प्रक्रियागत सिकाई महत्वपूर्ण रहेको मुम्ताजले बताउनुभयाे । उहाँले फोहोर संकलन, व्यवस्थापन र उपयोगको चरण सिकाईका महत्वपूर्ण प्रक्रिया रहेको सुनाउनुभयाे ।
‘नेपालको वालिङले फोहोर व्यवस्थापनमा राम्रो काम गर्दै आएको भन्ने सुनेका थियौं ।’ प्रा.डा. मुम्ताजले भन्नुभयाे, ‘फोहोर व्यवस्थापनको काम अहिले प्रत्यक्ष हेर्न पाइयो ।’ फोहोरलाई स्रोतका रूपमा उपयोग गर्ने वालिङको प्रक्रिया र शैली अनुभवयोग्य र राम्रो लागेको उहाँले बताउनुभयाे ।
गण्डकी प्रदेशमा पहिलो पटक दिशाजन्य लेदो व्यवस्थापनमा पालिकाले काम गरि रहेको नगर उपप्रमुख कविता तिवारी गैरेले बताउनुभयाे । उहाँका अनुसार पालिकाले इन्फो नामक संस्थासँगको सहकार्यमा दिशाजन्य फोहोर व्यवस्थापनको काम गर्दै आएको छ ।
फोहोरलाई आर्थिक स्रोतका रूपमा रुपान्तरण गरेपछि फोहोरको व्यवस्थापन पक्षको जान्न र बुझ्न देश तथा बिदेशीबाट अध्ययन टोली आउने गरेका छन् । अनुभव आदानप्रदान गर्न देशभित्रकै पालिका र बिदेशबाट अध्ययन गर्ने टोली आउने गरेको वालिङका नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयाे ।
नगरपालिकाले सञ्चालनमा ल्याएको सरसफाइ केन्द्र अहिले सिकाई केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारण अनुरूप अगाडि बढ्दै गरेको पालिकाले फोहोरलाई स्रोतका रूपमा उपयोग गर्दै आएको छ ।
पालिकाले बजार क्षेत्रबाट एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन दिशाजन्य फोहोर संकलन गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताउनुभयाे ।