गल्याङ जेसीजद्वारा उत्कृष्ट ८ युवा सम्मानित, योगदान र प्रेरणाको उच्च कदर

२०८२ श्रावण २८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल 
स्याङ्जा, २८ साउन । युवा भनेको केवल उमेरको दायरा मात्र होइन, यो त सपनालाई कर्ममा बदल्ने उर्जा हो । समाजलाई नयाँ दिशा दिने साहस हो । यही उर्जा र प्रेरणालाई कदर गर्दै गल्याङ जेसीजले अन्तर्राष्ट्रिय युवा दिवस २०२५ मा गल्याङका ८ प्रतिभाशाली युवाहरुलाई सम्मान गरेको छ । गल्याङ नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष नामदेव खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुलाई विभिन्न विधामा उत्कृष्ट योगदानको आधारमा सम्मान गरेको हो ।

कार्यक्रमको उद्देश्य केवल पुरस्कार वितरण मात्र नभई समाजमा सिर्जनशीलता, नेतृत्व क्षमता र सकारात्मक परिवर्तनको भावना फैलाउनु रहेको जेसीज वर्ष २०२५ का अध्यक्ष ज्ञानेन्द्र पाठकले बताउनुभयो ।

सम्मानित हुनेमा शिक्षा, धर्म तथा संस्कृति संरक्षणको तर्फबाट दीपक गैह्रे, खेलकुद प्रशिक्षक छविलाल गाहा, नवप्रवर्द्धन उद्यमी कृष्ण पाठक, कृषि उद्यमशीलता तर्फबाट प्रदीप पाण्डे, स्वास्थ्य क्षेत्रबाट सन्तोष भण्डारी, क्रीकेटका खेलाडी सन्दीप खत्री, भलिबल खेलाडी उमेश सेन्चुरी र पशुपालन तर्फबाट तारा प्रसाद भण्डारी रह्नुभएकाे छ ।

उक्त सम्मान कार्यक्रममा बोल्दै वडाअध्यक्ष खनालले युवाहरू राष्ट्रको मेरुदण्ड भएको र उनीहरूको प्रतिभा तथा श्रमलाई उचित दिशा दिन सके मात्र समृद्ध समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । आजको प्रतिस्पर्धात्मक विश्वमा युवापुस्ताले शिक्षा, प्रविधि, कृषि, खेलकुद, स्वास्थ्य वा उद्यमशीलता जस्ता क्षेत्रमा देखाएको योगदान गर्वको विषय रहेको बताउदै यस्ता प्रतिभालाई सम्मान मात्र होइन, अवसर र मार्गदर्शन पनि आवश्यक रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, सामाजिक संघसंस्थाका अगुवा, पूर्व जेसीज पदाधिकारी, स्थानीय शिक्षक, व्यवसायी लगायतको उल्लेख उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय