काठमाडौँ , ३१ साउन । भगवान् श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरूको लामो लाइन लागेको छ ।
विश्वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।


श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथिका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।