काठमाडौं, ९ भदौ । राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारबारे निर्णय गर्न नेपाली कांग्रेसका पदाधिकारीहरुको अनौपचारिक बैठक बस्दै छ । बैठक बिहान १० बजेपछि पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो ।
बैठकमा दुई उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङ तथा दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई बोलाइएको छ ।


कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ ।
पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख देवराज घिमिरे कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन् ।