काठमाडौं, ९ भदौ । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उखु किसानहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।


माइतीघरमा सोमबार पनि उखु नै बोकेर किसाहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा प्रदर्शनका लागि काठमाडौं आएका किसानहरूले माइतीघरमण्डला, बानेश्वर चोकमा प्रदर्शन गरिरहेका छन् ।
सरकारले पहिलेको प्रतिक्विन्टलमा ७० रुपैयाँ कै दरले अनुदान दिने निर्णय नै कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।
सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।