प्रकाश डोटेल
स्याङ्जा, ९ भदौ । सिद्धार्थ राजमार्गको सुनौली–पोखराको १८० किलोमिटरबाट घटाएर ११२ किलोमिटरमा झार्ने गरि अध्ययन थालिएको छ । साँघुरो र अप्ठ्यारा घुम्तीहरु रहेको सिद्धार्थ राजमार्गमा अनावश्यक घुम्ती हटाउने र दुरी घटाउने गरि अध्ययन थालिएको हो । सम्भाव्यता अध्ययन अन्तर्गत वातावरणीय तथा सामाजिक अध्ययनका लागि वाटर एसिया इन्टरनेशनल तथा वातावरणीय व्यवस्थापन र विज्ञान स्कूलका विज्ञहरु खटिएका छन् ।
टोलीले अध्ययनसँगै सिद्धार्थ राजमार्ग आसपासमा पर्ने सबै पालिकाहरुसँग छलफल समेत गर्ने भएको छ । सडक खण्डमा सुरुङ, पुल, बायाडक्ट बनाएर अहिलेको अनावश्यक घुम्ती र दुरीलाई घटाउनेगरि अध्ययन भइरहेको वातावरणीय व्यवस्थापन र सामाजिक विज्ञान विज्ञहरुले जनाएका छन् । पोखरा महानगरपालिकामा छलफल गरेर राजमार्गसँग जोडिएका पालिकाहरुसँग छलफल गरिरहेको टोली स्याङ्जा आइपुगेको छ ।


वाटर एसिया इन्टरनेशनलले विभिन्न विज्ञहरूलाई आबद्ध गरेर वातावरणीय र सामाजिक अध्ययनको काम शुरु गरेको हो । पूर्वाधार विज्ञ अजयभक्त माथेमा नेतृत्वको अध्ययन टोलीमा सामाजिक विज्ञ डा.तेज बी.डी. कार्की, वातावरण विज्ञ प्रतिक कर्माचार्य र वातावरण अधिकारी तथा परियोजना संयोजक विनोद अर्याल लगायतका प्राविधिकहरू खटिएका छन् ।
पूर्वाधार विकासमा विशेष ध्यान दिने बहुपक्षिय विकास बैंकले महत्वाकांक्षी परियोजनामा लगानी गर्नसक्ने अध्ययनमा संलग्न विज्ञहरु बताउँछन् । अनुदान, साझेदारी वा ग्रान्ट (अनुदान) सहयोग कुन मोडल उपयुक्त हुन्छ भन्ने विषयमा सरकारको स्पष्टीकरणको आधारमा बैंकले लगानी अघि बढाउने तयारी गरिरहेको विज्ञ टोलीले जानकारी दिएको छ ।
अध्ययन अनुसार ८ वटा सुरुङ (२३.३० किमी), १४ वटा पुल (०.८६ किमी), २७ वटा वायाडक्ट (२.९५ किमी), ११.७ किमी नयाँ सडक निर्माण र ७४.०६ किमी सडक स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ । कास्कीको छोरेपाटनदेखि स्याङ्जाको फेदीखोलासम्म ५.२४ किमीको सुरुङ, स्याङ्जाको भालुपहाडदेखि बाडखोलासम्म ३२८९.१ मिटरको सुरुङ, राङ्खोलादेखि हेलुसम्मको २.२ किलोमिटरको सुरुङ, कालीगण्डकी नदीस्थित राम्दीदेखि पाल्पाको पिपलडाँडासम्म १.३३ किमीको सुरुङ, बहाकी खोलादेखि तानसेन प्रभाससम्म तीनवटा सुरुङको निर्माण गरिने उल्लेख छ । प्रश्तावित सुरुङहरु पहिलो चरणमा ५५३१.५१ मिटर, दोस्रो १०२७.२५ मिटर र तेस्रो चरणमा २२६७.२६ मिटरका रहने बताइएको छ ।
सडक सुधार आयोजना अन्तर्गत २३.३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिनेछ । ०.८६ किलोमिटर पुल रहेको छ भने २.९ किलोमिटर बायाडक्ट निर्माण गर्ने गरिनेछ । ७४.०६ किलोमिटर सडक स्तरोन्नति÷सुधार गर्ने र ११.७ किलोमिटर नयाँ सडक निर्माण गरिने प्रस्ताव अगाडी सारिएको परियोजनाले जनाएको छ ।
यस्तै पाल्पाको केराबारीमा १०२७.२५ मिटरको डबल लेनको पुल बनाउनुपर्ने प्रस्ताव अगाडी सारिएको छ । सडक सुधार भएपछि १५७ किमीबाट ११२.८१ किमीमा छोटिनेछ र दोहोरो लेन मापदण्ड अनुसार सञ्चालनमा आउनेछ । प्रश्तावित परियोजना अनुसार पोखरा–बुटवलको दुरीसँगै यात्रा समय करिब ६ घण्टाबाट २.५ घण्टामा झर्नेछ । पोखरा–सुनौलीसम्मको दुरी भने हाल १८० किलोमिटरको छ ।
नयाँ परियोजनामा एआइआइबी लगानी गर्न इच्छुक देखिएको छ । राजमार्ग निर्माण र ऊर्जा उत्पादनलाई बैंकले प्रमुख लगानीका क्षेत्र मान्दै आएको छ । सम्भाव्यता अध्ययन भई कार्यान्वयन योग्य नेपालका योजनामा बैंकले लगानी गर्ने बताउँदै आएको छ । सिद्धार्थ राजमार्ग पोखरा–बुटवल सडक सुधार आयोजना अन्तर्गत नयाँ परियोजनाका लागि विकास साझेदारका रुपमा एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले सहयोग गरेको छ ।
स्याङ्जावासीको एकमात्र माग अहिले सिद्धार्थ राजमार्ग स्तरोन्नती रहेको छ । आर्थिक बर्ष २०८२/०८३ को बजेटमा समेत सरकारले सिद्धार्थ राजमार्ग स्तरोन्नती गर्ने उल्लेख गरेको थियो । सोहि अनुसार राजमार्गको स्तरोन्नती गर्न बिदेशी दातृनिकायले चासो व्यक्त गर्न थालेका छन् । सडक सुधार भए पोखरा, मुक्तिनाथ र अन्य पर्यटकीय क्षेत्रको अवलोकनका लागि स्थल मार्गबाट आउने पर्यटकको संख्यामा बृद्धि भएसँगै रोजगारी र आर्थिक उन्नती हुनेमा जिल्लावासी आशावादी रहेका छन् ।