स्याङ्जा, ९ भदौ । स्याङ्जाको गल्याङ नगरपालिका १ राम्दीबाट नियन्त्रित लागू औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका १ पृथ्वीचोक बस्ने २३ वर्षीय साजन ठकुरी र सोही ठाउँ बस्ने २२ वर्षीय अर्जुन गुरुङ रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट डाइजेपाम ३६ एम्पुल, नुफिन ३७ एम्पुल, फेनेरागन ३७ उम्पुल गरी जम्मा ११० एम्पुल बरामद गरेकाे सूचना अधिकारी चौधरीले बताउनुभयाे


सिद्धार्थ राजमार्गमा वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दी स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुको साथबाट उक्त नियन्त्रित लागु औषध फेला पारेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।