वीरगञ्जका ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’मा ९ हजारको निशुल्क स्वास्थ्य जाँच

२०७९ पुष ९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

वीरगञ्ज ,९ पुस । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झण्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निशुल्क स्वास्थ्य जाँच गरेको हो । कार्यक्रममा निशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ ।

महानगरको बजार एरियाभन्दा बाहिर ग्रामिण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुुभयो । वडा नम्वर १७ देखि ३२ सम्मका वडामा यो अभियान संचालन हुने र अहिलेसम्म ९ वटा वटाका जनताले घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको पनि उहाँले बताउनुभयो ।

गाडीमै जडान गरिएको ल्याब, युएसजी र इसीजी मेसिनले कार्यक्रम संचालन भएको स्थानमा आवश्यक जाँच गरेर रिपोर्ट दिने गरेको छ । यसले बजारका अस्पतालमा धाइरहनु पर्ने ग्रामिण क्षेत्रका जनतालाई राहत दिएको बताउँछन् बसडिलवाका अनिष महतो । यो कार्यक्रम अहिलेलाई मात्रै सिमित नराखी निरन्तरता दिनु पर्नेमा उनको जोड छ । शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई महानगरपालिकाले उहाँहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधी त्यहीँ उपलब्ध गराउँदै आएको छ । वीरगञ्जको वडा नम्वर ३० लालपर्साबाट भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको हो ।
अहिलेसम्म वडा नम्वर ३० लालपर्सासहित वडा नम्वर ३१ बेलवा, ३२ चोर्नी, १८ भवानीपुर, १७ अलौँ, २६ सुगौली, १९ विन्दवासिनी, २० हरपतगञ्ज र २९ बसडिलवामा यो अभियान सम्पन्न भइसकेको छ । आइतबारदेखि पुनः अर्को वडामा यो अभियान संचालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिनुभयो ।

‘अहिलेसम्म ९ वटा वडामा कार्यक्रम सम्पन्न भइसकेको छ,’ उहाँले भन्न्ुाभयो, ‘बाँकी रहेका वडामा पनि हामी क्रमैसँग कार्यक्रम गर्दै जानेछौँ ।’ ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा जनताको घर आगनमै आएर स्वास्थ्य जाँच गर्नुका साथै निशुल्क औषधी समेत उपलब्ध गराइने भएकाले फाइदा उठाउन सबैलाई उहाँले आग्रह गर्नुुभयो । अहिलेसम्म ९ वटा वडामा चलेको कार्यक्रममा ५ हजार ५ सय ६२ जना महिला र ३ हजार २ सय १७ जना पुरुषले स्वास्थ्य जाँच गराएको पनि उहाँले जानकारी दिनुुभयो । यस्तै १ हजार ८ सय २२ जनाले ल्याव सेवा लिएका छन् भने ३ सय ५५ जनाले युएसजी र ६७ जनाले इसीजी सेवा लिएको पनि स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय