कमलाको सम्झनामा कविता “हत्याराहरू हांस्न थाले दन्ते लहर खोलि”
आमा तिम्ले अन्माएर पठाएको डोली ।
खै कस्ले के जान्या छ के हुनि हो भोली ।।
दाजुभाइ अटेको घरमा म अटिन किन ?
लाग्दैनथ्यो यो जीवनमा आउला यस्तो दिन ।
तीन तीन वटा सन्तान पाए उनी प्रदेशमा ।
खुसीका दिन आउलान भन्दै बस्थे घरदेशमा ।।
भीरको घास वनको दाउरा हुर्काए बालबच्चा ।
सातफेरो घुम्दा खाको कसम रैन्छ नि सच्चा ।।
कति सहे सासू, जेठाजु र अमाजुको खटन ।
लाउन खान टाढा कुरा पाइन मीठो वचन ।।
विदेशीएका श्रीमानको अर्कैसँग चक्कर ।
दुख पीडा कति सहनु जिन्दगीका ठक्कर ।।
उनी घरमा आउँदा मैले मीठा सपना बुने ।
रातीको दस बजे एक्कासी कोठाभित्र थुने ।
छोराछोरी नभएको मौका बनाएर ।
टाउकोमै हाने मलाई कपाल समाएर ।।
आउन बाबू ल्याउन पानी भने सुस्त बोली ।
हत्याराहरु हास्नँ थाले दन्ते लहर खोली ।।
चुट्यो पोते फुटे चुरा रगतको भल ।
बाबू नानी भन्दा भन्दै भए अलमल।।
घरमा कोइ आई सोधे सुति छ भनिदिने ।
भएन्न कोहि मेरो मनको चित्कार सुनी दिने ।
बाह्र घण्टा पछि बल्ल छोराले थाहा पायो ।
मेरो मुटुको टुक्रा त्यो दौडिएर आयो ।
हस्पिटल धाउदा तिम्रो खर्च कति भयो ।
बाबू तिम्रो सपनाहरु बालुवामा गयो ।।
शिरको सिन्दुर यति धेरै पापी हुदो रैछ ।
प्राथिप शरिर टाढा बन्यो आत्मा तिमी मै छ ।
तिम्रा पापी बाउ , फुपू ठुलाबाबा मिली ।
अन्धकार बनाइदिए संसार झिलीमिली ।।
मामाहरु पिल्लर हुन आड तिनको लिनु ।
हत्यारालाई आवश्यक सजायहरु दिनु ।।
फितलो छ कानुन कहाँ जान्छौ न्याय माग्न ।
मिलेमतो गर्दै अपराधी सफल हुन्छन भाग्न ।।
फूलजस्ता बैनिहरुको रक्षा तिम्ले गर्नु ।
मर्द हो नि बाबू तिमी हुन्न हिम्मत हार्नु।
लेखक : लक्ष्मी रेग्मी खनाल
पुतलीबजार न. पा. १३ स्याङ्जा