स्याङ्जा,७ असार । कालीगण्डकीको आरती भजन सार्वजनिक भएको छ । कालीगण्डकी गुरुकुलम् पाल्पाद्वारा आयोजना गरिएको संस्कृत भाषाभ्यास : कार्यक्रम शुभारम्भको अवसरमा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका संस्थापक चैतन्यकृष्ण प्रभुले विमोचन गर्नुभएको हो ।
धर्म,संस्कार,संस्कृति र ऋषिपरम्पराको संरक्षणका लागि अभियान चलाइरहनु भएका चैतन्यकृष्णले विमोचन कार्यक्रममा बोल्नुहुँदै आरतीको शास्त्रीय,वैज्ञानिक एवं व्यवहारिक पक्षमाथि प्रकाश पार्नुभएकाे थियाे। कालीगण्डकीको महिमा, शालग्रामको महत्त्वमाथि प्रकाश पार्नुहुँदै प्राचीन धार्मिक ग्रन्थहरूमा भागीरथी गंगालाई भन्दा पनि माथिल्लो श्रेणीमा कालीगण्डकीलाई राखिएको कुरा प्रष्ट पार्नुभयो । यिनै आध्यात्मिक ,भौतिक ,धार्मिक , सांस्कृतिक ,सामाजिक तथा आर्थिक जुन दृष्टिकोणबाट हेरे पनि महिमा सम्पन्न कालीगण्डकीको आरती बनेकोमा आफू निकै हर्षविभोर भएको कुरा व्यक्त गर्नुभयो । उहाँले उत्तरवाहिनीको पवित्रतटबाट जीवनदायिनी कालीगण्डकीको नित्य आरती सुरुभएको र अब कालीगण्डकीको अन्य तटबाट पनि नित्य आरती हुनुपर्छ र हुनेछ पनि भन्दै विश्वास समेत व्यक्त गर्नुभयो ।
गण्डकीको महिमा समेटिएको आरती भजन पहिलोपल्ट शब्द कौतुकी नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । आरतीमा स्वर राधिका भण्डारीको रहेको छ भने शब्द रचना दिवाकर पौडेलले गर्नुभएको छ । संगीत संयोजन बच्चा सिंहको रहेको छ भने यसको अडियो मिक्सिङ तथा रेकर्डिङ कुमार के.सी.ले गर्नुभएको हो। उक्त आरतीको दृश्यचित्रमा भिडियो निर्देशन, छायांकन तथा सम्पादन हरिकृष्ण रेग्मीले गर्नुभएको छ । मुक्तिनाथ आरती पछि कालीगण्डकीको आरती भजनलाई सर्जक स्वयंले बजारमा ल्याउनु भएको हो । यस म्युजिक भिडियोको छायांकनका लागि संस्कृत युवामञ्च नेपालका गुरुहरू मदनराज न्यौपाने ,विश्वराज सापकोटा , धनीराम ढकाल ,गोविन्दराज गौतम र सहदेव न्यौपानेले कालीगण्डकीको पवित्र तट कागबेनी र उत्तरवाहिनी क्षेत्रमा महाआरती गर्नुभएको थियोे । कालीगण्डकी गुरुकुलका प्रधान्याध्यापिका दुर्गा कंडेल वस्यालकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन गुरुकुलका बटुक प्रशान्त अधिकारीले गर्नुभएको थियो ।