वालिङ ११ मा काँग्रेसको वडा कार्यालय उद्घाटन

२०७८ कार्तिक १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल 

स्याङ्जा, १६ कार्तिक । नेपाली काँग्रेस वालिङ ११ ले वडा कार्यालयको उद्घाटन तथा शुभ दीपावली, छठ, इद तथा ल्होसार पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस वालिङ ११ वडा समितिको आयोजनामा कार्यालयको उद्घाटन र शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

 १४ औँ महाधिवेशन पछि बनेको नयाँ समितिले वडा कार्यालय स्थापना गरी मङ्गलवार उद्घाटन कार्यक्रमको आयोजना गरेको थियो । वडा कार्यालयको नेपाली काँग्रेस वालिङ नगर समितिका सभापति नेत्रप्रसाद पाण्डेले उद्घाटन गरेर शुभारम्भ गर्नु भएको छ ।

वडा कार्यालयको उद्घाटन गर्दै नगर सभापति पाण्डेले विकास र सांगठनिक गतिविधि सँगसँगै लैजानुपर्ने बताउनुभयो । विगतका समयमा पार्टी नेतृत्व र जनप्रतिनिधिको तालमेल नहुँदा विकास र साङ्गठनिक गतिविधि कमजोर रहेको नजिर व्यक्त गर्दै सभापति पाण्डेले अब विकास र सङ्गठन मजबुत बनाउन सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पार्टीका हरेक गतिविधि र साङ्गठनिक क्रियाकलापमा वडा कार्यालयको भूमिका महत्त्वपूर्ण हुने भएकाले वडा समितिले कार्यालयबाट पार्टीको सबै गतिविधि सञ्चालन गर्न सहज हुने सभापति पाण्डेले बताउनुभयो ।

सभापति पाण्डेले गुटरहित अबका अधिवेशन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै सबै वडा सभापति तथा क्षेत्रीय प्रतिनिधिहरूलाई नगर अधिवेशनमा सहभागी जनाएकोमा धन्यावाद र आभार व्यक्त गर्नुभयो । वडा सभापति टिकाराम पराजुलीको सभापतित्व सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश अर्याल र स्वागत उपसभापति विमल अर्याले गरेका गर्नुभएको थियो ।

वडा कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य भोजराज अर्याल, छायाराम खनाल, सरस्वती तिवारी, महाधिवेशन प्रतिनिधि कल्पना तिवारी, गुरुप्रसाद भट्टराई, वालिङ नगरका निवर्तमान सभापति दिलिपप्रताप खाँण लगायतका अग्रज नेताहरूको सहभागिता रहेको वडा सचिव सुरेश अर्यालले जानकारी दिनुभयो । सो कार्यक्रममा नगर सभापति पाण्डेले नगर समितिको तर्फबाट वडा समितिलाई बिपीको तस्बिर नेपाली काँग्रेसको झन्डा उपहार दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार