पाँच दिनका लागि बेनी जोमसोम सडकखण्ड पूर्णरुपमा बन्द

२०८० श्रावण २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

म्याग्दी, २७ साउन ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो । उक्त सडकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

दैनिक जसो सडक आवागमन अवरुद्ध हुने गरेको र धनजनको समेत क्षति हुने सम्भावना रहेको हुनाले पहिरो सुरु हुने स्थानमा एस्काभेटर पु¥याई पहिरो नियन्त्रण गर्नुपर्ने देखिएको तथा पहिरो सुरु हुने स्थानबाटै पहिरो नियन्त्रण गरी समस्याको स्थायी निराकण गर्ने काम भइरहेकाले उक्त सडकखण्ड सो अवधिमा बन्द हुने जारी सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडकखण्डमा चल्ने हलुका सवारी साधानहरुले सो समयमा चमेरे–राखु÷पिप्लेबेगखोला सडकखण्डको बैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

“बैकल्पिक कच्ची मार्ग ‘सिङ्गल ट्रयाक’को भएको हुँदा बेगखोलाबाट चमेरेतर्फ (मुस्ताङबाट बेनी आउने हलुका सवारी साधन) आउने र चमेरेबाट बेगखोलातर्फ (बेनीबाट मुस्ताङतर्फ जाने हलुका सवारी साधन) जाने सवारी साधनले आलोपालो गरेर आवातजावत हुने व्यवस्था गरिएकाले स्थानीय सुरक्षाकर्मीको समन्वयमा मात्रै सो बैकल्पिक मार्ग प्रयोग गरिदिनुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ”, जारी सूचनामा भनिएको छ ।

मुख्य सडक बन्द भएपछि सवारी साधनको चाप बढेको वैकल्पिक सडकमा आवतजावतलाई सुरक्षित र व्यवस्थित बनाउन मन्त्रालय, प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र रघुगङ्गा गाउँपालिकासँग समन्वय गरेर मर्मत गर्न लागिएको गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले बताउनुभयो । हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउने काम थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय