धादिङबेसी रुवीभ्याली जोड्ने मुख्य मार्ग दुई सातादेखि अवरुद्ध

२०८० भाद्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

धादिङ, १० भदौ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली पुग्ने मुख्य गन्तव्य पहिराले अवरुद्ध भएको छ । सदरमुकाम धादिङबेसीबाट खनियाबास गाउँपालिका हुँदै रुवीभ्याली पुग्ने सडक पैदल हिँड्नसमेत नसक्ने गरी अवरुद्ध भएको हो ।

खनियाबास गाउँपालिका–१ को पेर्चोगाउँ र लिस्ने खोलाको बीचमा पर्ने म्लिम्लीगङ (जुगाडाँडा) भन्ने ठाउँमा पहिरो खसेको हो । सडकभन्दा माथिबाट झरेको पहिराले सडक नै बगाएको स्थानीय शिक्षक दामन तामाङले जानकारी दिनुभयो । अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो । फेरि उही स्थानमा खसेको पहिरोले स्थानीयवासीको खेतसमेत पुरेको छ ।

पहिलो पटकको पहिराले भासिएको जमिन पुनः पहिरा जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको खम्बाहरु ढलेका छन् । आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथी रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताउनुभयो ।

“पहिलाको पहिरो रोकियो भन्नेमा ढुक्क थियौँ, यसपालि झन् ठूलो पहिरो झ¥यो”, एलियाले भन्नुभयो, “तत्काल पहिरो रोकथामतिर नलाग्ने हो भने बस्तीसम्म पहिरो पुग्ने र गाउँ नै तानिने जोखिम छ ।” पानी नपरेको बेला रुवीभ्यालीतर्फ आउजाउ गर्नेहरु जोखिममा परेका छन् । एलियाले भन्नुभयो, “बलियो मान्छेहरु जोखिम मोलेरै दौडेर आउने जाने गर्छन् । भारी बोकेर हिँड्नेहरुले भने प्लेङयर्तोङ ९गोलो ढुङ्गा०को बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ ।”

रुवीभ्यालीको बोराङ, सेर्तुङ, तिप्लिङ, लापाका स्थानीय आउजाउ गर्ने मुख्य सडक हो । बर्खाको बेला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीसम्म एउटा गाडी र किन्ताङ खोला तरेपछि अर्को गाडीमा खनियाबास–४ तरम्हानेसम्म पुगेर पैदल सुरु गर्ने यात्रुलाई म्लिल्मीगङको पहिरोले थप समस्या पारेको छ । बर्खाको बेला गाडी त पुग्दैन थियो नै पहिरोले पैदल हिँडेर समेत बाटो पार गर्न नसकिने भएपछि लामो समय लगाएर प्लेङयर्तोङको बाटो घुम्नुपर्ने बाध्यता छ । पहिरो नझर्दासम्म यो बाटोमा दैनिक सयौँ स्थानीय आवतजावत गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार