स्याङ्जाका खनाल श्रम रोजगार पत्रकारिता पुरस्कारबाट पुरस्कृत

२०८० आश्विन ९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, ९ असोज । स्याङ्जा गल्याङ नगरपालिका ९ निवासी लक्ष्मण खनाल श्रम रोजगार पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

बैदेशिक रोजगारिका शिलशिलामा युएईमा कार्यरत रहनुभएका खनाल काम सङ्गै पत्रकारिता पेशालाइ अगाल्दै आउनुभएको छ । नेपाल पत्रकार महासंघ युएई शाखाका निवर्तमान अध्यक्ष खनाल लामो समयदेखि युएई बाट नया पत्रिकामा आवद्ध हुनुहुन्छ ।

श्रम आप्रवासनका क्षेत्रमा कलम चलाउने खनाल संगै तीन पत्रकारलाई ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको हाे । श्रम रोजगार पत्रकार समूह र प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले आइतबार आयोजना गरेको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले पुरस्कार प्रदान गर्नुभयो ।

पुरस्कृत हुनेमा कृष्णसिंह धाँमी (काठमाडौँ), रुपा गहतराज (बाँके) र लक्ष्मण खनाल (संयुक्त अरब इमिरेट्स) हुनुहुन्छ । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । उपत्यका, मोफसल र प्रवासमा रहेका क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको समूहका अध्यक्ष सुनील न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा श्रममन्त्री भण्डारीले आप्रवासन विश्वव्यापी परिघटना भएको उल्लेख गर्दै नेपाल सरकार राष्ट्रिय आप्रवासन नीति मस्यौदा गर्ने प्रक्रियामा रहेको बताउनुभयो । “आन्तरिक होस् वा बाह्य आप्रवासनलाई व्यवस्थापन गर्नुपर्छ, वैदेशिक रोजगारी रोकेर रोकिँदैन, यसलाई व्यवस्थित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको छ ।”

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकार एक्लैको प्रयासले सम्भव नभएको जनाउँदै उहाँले सरोकारवाला सबैको सकारात्मक सहयोगका अपेक्षा गरिएको बताउनुभयो । “वैदेशिक रोजगारीलाई सरकार एक्लैले व्यवस्थित पार्न सक्दैन, सबै मिलेर सामूहिक प्रयत्न गर्नुपर्छ”, उहाँले भन्नुभयो । श्रम आप्रवासनका क्षेत्रमा देखिएका समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न प्रधानमन्त्रीको नेतृत्वमा गन्तव्य मुलुकका राजदूतसँग बृहद् छलफल गरिएको उल्लेख गर्दै उहाँले सो छलफलको निर्णय कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी खतिवडाले वैदेशिक रोजगारीका अवसरलाई लैङ्गिक रुपमा विभेद गर्न नहुने उल्लेख गर्दै वैदेशिक रोजगारीका क्रममा भएका ठगीका घटनामा संलग्नलाई कडा कारबाही गरिनुपर्ने बताउनुभयो । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय