नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय भाडादर पाँच हजारसम्म छुट

२०८१ मंसिर ६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ६ मंसिर । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने भएको छ । हवाई भाडा अत्यधिक बढेको गुनासो आएपछि निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिन लागेको हो ।

नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दश घण्टा बन्द भइरहेको छ । जसका कारण तत्कालीन अवस्थामा विभिन्न वायुसेवाहरूको हवाई उडानहरू कटौती भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपालीहरुको महान् चाडपर्व समेत परेकोले हवाई यात्रुको सङ्ख्या वृद्धि भएसँगै उडानहरूको माग बमोजिम आपूर्ति हुन सकेको छैन ।

अहिले हवाई भाडा अत्यधिक बढेको भन्ने गुनासो आइरहेको छ । नेपाल वायुसेवा निगमले हवाई भाडादर बजार माग तथा आपूर्तिको सिद्धान्त बमोजिम निगमको जहाज र सिट संख्याको उपलब्धताको आधारमा गत वर्षको सोही अवधिको भाडदरको दायराभित्र नै रहेको दाबी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको भाडा दरमा देहाय बमोजिमको छुट सहित निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कार्यालयबाट टिकट लिन सकिने व्यवस्था समेत मिलाइएको छ

निगमले बिहीबार विज्ञप्ति जारी गरी दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा दुई हजार पाँच सय रुपैयाँसम्म छुट दिने जनाएको छ। त्यस्तै, दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, वैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा पाँच हजार रुपैयाँसम्म छुट दिने  निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय