नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै

२०८० आश्विन २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २४ असोज । इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ ।

नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जानुहुने उहाँका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए ।

यसैगरी परराष्ट्र मन्त्रालयले इजरायलमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको उद्धार र स्वदेश फिर्ताका सम्बन्धमा हालसम्म भएका पहलकदमी तथा प्रगतिबारे जानकारी गराएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहने नेपालीका लागि नेपाल एयरलाइन्सको दुई सय ५० सिट क्षमताको वाइडबडी विमान आज राति इजरायलको तेल अविवतर्फ प्रस्थान गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “इजरायलबाट नियमित व्यावसायिक उडान सञ्चालन भइरहेकाले नेपाल फर्कन इच्छुकलाई इजरायलस्थित नेपाली राजदूतावासले सहजीकरण गर्नेछ ।”

नेपाली राजदूतावासले सुरक्षित स्थानमा सर्न तथा नेपाल फर्कन चाहनेको विवरण अनलाइन रजिष्ट्रेसन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ । हालसम्म तीन सय ५० भन्दा बढी नेपालीले विवरण उपलब्ध गराएका छन् । विवरण दिएकामध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन चाहेको बताएका प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।

इजरायलमा हाल दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरु इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन । यसमध्ये कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी त्यहाँ गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए ।

हमासको आक्रमणबाट १० विद्यार्थीले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन् । उनीहरुको हाल उपचार भइरहेको छ । घाइतेको उपचारको प्रबन्ध गर्न इजरायल सरकारसँग अनुरोध भएबमोजिम उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय