कांग्रेस स्याङ्जा जिल्ला सभापतिमा यी नेताबीच कडा टक्कर, कसको पल्ला भारी होला ?

२०७८ मंसिर ८, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, ८ मंसिर । स्याङ्जामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन थप रोचक हुने देखिएको छ । सोमबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मत परिणामले आगामी शुक्रबार हुने जिल्ला अधिवेशनको निर्वाचनमा सभापति पदका लागि दुई प्यानलका बिच कडा प्रतिस्पर्धा हुने सम्भावना बलियो बन्दै गएको छ ।

संविधान सभा सदस्य राजु थापा र गण्डकी प्रदेश नेपाली काङ्ग्रेसका सचेतक सांसद भागवत् प्रकाश मल्लका बिच कडा टक्कर हुने आँकलन गर्न थालिएको छ । सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनमा स्याङ्जा क्षेत्र नं १ बाट जिल्ला कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार ४३७ मत प्राप्त गरी खुला १० जनामा ११ औँ स्थानमा पुग्दै महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि स्याङ्जाको राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।

उम्मेदवार भनेर एउटा पक्षबाट घोषणा गरिएका उम्मेदवारले महाधिवेशन प्रतिनिधिबाट हार बेहोर्नुपरेपछि त्यस प्यानलले भागवत् प्रकाश मल्ललाई अगाडि सार्ने चर्चा हुन थालेको छ । राना सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठ प्यानलको मानिन्छ्न् । र मल्लका बिच सभापतिमा कडा प्रतिस्पर्धा हुनसक्ने आकलन भइरहेको छ ।

सोमबारको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनमा स्याङ्जा काङ्ग्रेसका केही हस्तीहरुले नराम्रो पराजय बेहोर्नुपरेको छ । क्षेत्र नं २ मा राजु थापा पक्षधर भनेर चिनिएका नेपाली काङ्ग्रेसका पुराना नेता तथा वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्याल पनि पराजित हुनुभएको छ । उहाँले ४८५ मत ल्याई खुला १० जनामा १२ औं स्थान प्राप्त गर्नुभएको थियो ।

त्यस्तै काङ्ग्रेस स्याङ्जाका पुराना नेता तथा पूर्व सभापति खगेन्द्र रेग्मीले पनि महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नुपरेको छ । उहाँले ४१० मत प्राप्त गरी १५ औँ स्थान प्राप्त गर्नुभएको थियो । त्यस्तै गरी क्षेत्र नं २ बाट सङ्घीय सांसद मोहनप्रसाद पाण्डेले पनि महाधिवेशन प्रतिनिधिमा पराजय बेहोर्नुपरेको छ । उहाँले ४७९ मत प्राप्त गरी खुला १० भित्र १२ औँ स्थान प्राप्त गर्नुभएको छ । निर्वाचनमा पराजित भएका दुवै पक्षका नेताहरुको भूमिका आगामी दिनमा कस्तो हुन्छ त्यसले पनि सभापतिको निर्वाचनलाई केही हदसम्म प्रभाव पार्न सक्ने अनुमान गर्न थालिएको छ ।

खासगरी स्याङ्जामा केन्द्रको स्पष्ट धार नदेखिने दुई लाइन सङ्घर्ष चलिरहेको छ । सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठको लाइनका भनिएकाहरुले क्षेत्र नं १ मा पराजय भोग्नुपरेको छ भने राजु थापा पक्षधरहरु क्षेत्र नं २ मा पराजित भएका छन् ।

दुई वटामात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको स्याङ्जामा क्षेत्र नं १ मा संविधान सभा सदस्य राजु थापा बलियो अवस्थामा देखिएका छन्। भने क्षेत्र नं २ मा गण्डकी प्रदेश काङ्ग्रेस संसदीय दलका सचेतक सांसद भागवत् प्रकाश मल्ल बलियो देखिएका छन् । क्षेत्र नं १ मा सबैभन्दा बढी मत राजु थापाले प्राप्त गरेका छन् भने २ मा भागवत प्रकाश मल्लले प्राप्त गरेका छन्।

यससँगै भावी सभापतिको प्रतिस्पर्धा पनि मल्ल र थापा बिचमा हुने अनुमान गरिएको छ । दुवै आआफ्ना क्षेत्रमा बलिया देखिएकाले सभापतिमा कडा प्रतिस्पर्धा हुने अनुमान राजनैतिक वृत्तमा चर्चा एवं विश्लेषण हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार