प्रधानमन्त्रीले युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया

२०८० माघ ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ५ माघ । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीसँग भेट गर्नुभएको छ । भेटमा उहाँले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “युगाण्डामा मेरो पहिलो भ्रमण हो । तपार्इंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजोमात्रै भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतसँग छलफल गरिएको छ ।”

परराष्ट्रमन्त्री नारायण प्रकाश(एनपी) साउदले युगाण्डामा रहेका नेपालीले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको भन्दै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको बिम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न आग्रह गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्रीलगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताउनुभयो ।

सो कार्यक्रममा गैरआवासीय सङ्घका युगाण्डाका संरक्षक रमेश कँडेलले युगाण्डामा तीन सय ५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार–व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको जनाउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार