काठमाडौँ, २५ माघ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन समयमा सम्पन्न नहुने देखिएको छ ।
निर्माणाधिन भवनको आन्तरिक सजावटका कामका साथै अन्य कामहरुको निर्माण नसकिएकाले आयोजनाले तोकेको चैत्र १२ गतेभित्र सम्पन्न नहुने देखिएको हो । बिहीबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संरचनाको काम सम्पन्न भएपनि प्रतिनिधिसभा र राष्ट्रियसभाको भवनमा छाना हाल्ने काम भइरहेको जानकारी दिनुभयो । त्यस्तै भवनको भित्री भागको सजावट लगाएतका काम तत्काल सुरु गर्ने तयारीमा रहेको उहाले बताउनुभयो । उहाले असार मसान्तसम्म भवनको भित्री भागको काम सम्पन्न गर्न समयदिएकाले आयोजनाले भनेजस्तो चैत्र १२ गतेभित्र निर्माणसम्पन्न हुने नदेखिएको उल्लेख गर्नुभयो । निर्माणाधीन संघीय संसद् भवनको हालसम्म भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत भएको उहाले बताउनुभयो ।
अनुगमन पछि समिति सभापति प्रकाश पन्थले चैत्र १२ सम्म सम्पन्न गर्ने आयोजनाको डेडलाइन अनुसार सम्पन्न हुने नदेखिएको बताउनुभयो । उहाले संसद भवन निर्माणको काममा बिभिन्न कारणले ढिलाई देखिएकाले समस्यमा समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउने बताउनुभयो । उहाले बजेट अधिवेशन नयाँ भवनाबाटै सञ्चालन गर्ने गरि काम गर्न पनि निर्देशन दिने जानकारी दिनुभयो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते सिंहदरबारस्थित पुतली बगैँचामा नयाँ संसद् भवन निर्माणको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा निर्माण सक्ने लक्ष्य अनुसार काम सुरु गरेपनि समयमा नै सम्पन्न नभएका कारण पटक पटक म्याद थप गरिदै आएको छ । १५१ रोपनी जग्गामा संघीय संसद्का १२ वटा भवन निर्माण गरिएको छ ।