पूजा खडका
स्याङ्जा,२ फाल्गुन । भिरकोट नगरपालिका ३ गुमार्दी टोलमा रहेको श्री जनज्योति आधारभूत विद्यालयको ६७ औं बार्षिकोत्सव अभिभाबक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
भिरकोट नगरपालिका नगर उपप्रमुख भगवती रेग्मी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख अर्यालले शिक्षाको सर्वाङ्गीण विकास गर्न शिक्षक विद्यार्थी र अभिभावकको सम्बन्ध राम्रो हुनुपर्ने बताउनुभयाे । शिक्षाको सहजीकरणको लागि आवश्यक सामग्री माग भएमा नगरले सक्दो व्यवस्था गर्ने जनाउँदै वर्तमान परिवेशमा गाउँघरको बसाई बजारतर्फ जाने प्रवृत्तिका,निजी विद्यालयमा पढाउने लगायतका कारणले सरकारी विद्यालयमा विद्यार्थीकाे संख्या घट्दै गएकाे बताउनुभयाे ।
कार्यक्रममा भिरकोट नगर प्रवक्ता वडा नम्बर एकका वडा अध्यक्ष दिपेन्द्र केसीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि सैद्धान्तिक शिक्षा मात्र नभई प्रयोगात्मक र प्राविधिक शिक्षामा जोड दिन आवश्यक रहेको बताउनुभयाे । उहाँले विद्यार्थी शिक्षक र अभिभाबक सबै समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो । त्यस्तै गरी कार्यक्रममा नेपाली काङ्ग्रेस भिरकोट नगर सभापति याम प्रसाद अधिकारीले शिक्षालाइ प्रविधि मैत्रीका रुपमा अघि बढाउनुपर्ने बताउनुभयाे । उहाँले बसाईसराईका कारणले गाउँ घरका विद्यालयमा विद्यार्थीकाे संख्यामा प्रभाव परेको उल्लेख गर्नुभयो । कार्यक्रममा बार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने अक्षयकोष दाताहरुको सहयोगमा पुरस्कार वितरण गरिएकाे थियाे ।
स्व.मान बहादुर केसी अक्षयकोषबाट विद्यालयको सर्वोत्कृष्ट एकएक जना छात्र र छात्रा, स्व.याम बहादुर लक्ष्मी कुमारी खड्का अक्षयकोष बाट विपन्न विद्यार्थी मध्य बाट एक एक छात्र र छात्रा लाई, स्व. एलिजा खड्का छात्रवृद्धी अक्षयकोष बाट सर्वोत्कृष्ट अंक ल्याउने एक जना छात्रा ,भूपू प्रधानपञ्च स्व. मिन बहादुर माकी स्मृति छात्रवृद्धी अक्षयकोष बाट सर्वोत्कृष्ट अंक प्राप्त एक एक जना छात्र छात्रा, तिल बहादुर खड्का जीवित अक्षयकोष बाट विद्यालयमा धेरै दिन हाजिर हुने विद्यार्थी एक एक जना छात्र छात्रा, स्व.मन बहादुर सिंह ठकुरी स्मृति अक्षयकोष पुस्तकालय वृद्धि विकास गर्न, स्व. कलाहिरा क्षत्र स्मृति अक्षयकोष बाट कक्षा सात बाट सर्वोत्कृष्ट अंक ल्याई प्रथम हुने एक एक जना छात्र छात्रा, स्व.प्रेम बहादुर खड्का एबम् परिवारजन स्मृति अक्षयकोष बाट वर्षको एक एक जना उत्कृष्ट विद्यार्थी ,शिक्षक,अभिभाबक र विद्यालय व्यवस्थापन समिति सदस्य र स्व. रुद्र बहादुर खत्री र भिमा कुमारी खत्री छात्रबृद्धी अक्षयकोष बाट एक जना दलित छात्रा मध्य बाट एकजना जेहेन्दार छात्रा लाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु विर विकले सम्पूर्ण सहभागि प्रति धन्यवाद दिदै विद्यालयको बार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीको गुणस्तर वृद्धिमा आफू सदा लागिपर्ने बताउनुभयो उहाँले बताउनुभयाे । कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका अमृता रानाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक सुरेश पोखरेलले गर्नुभएको थियो।
कार्यक्रममा भिरकोट नगरका बालमैत्री संयोजक विष्णु काफ्लेले बालबालिका लाई जंक फुड नखुवाउन र जंक फुड खानाले व्यक्तिको शारीरिक मानसिक रुपमा असर पार्ने बताउँदै विद्यालयको ६७ औं वार्षिकोत्सबको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विशिष्ठ अतिथिहरु केशर बहादुर खड्का, दिपेन्द्र केसी, नन्दु खनाल, यामप्रसाद अधिकारी, विष्णु काफ्ले,चोलाकान्त काफ्ले, खेमनारायण काफ्ले, विजय काफ्ले, पानु गुरुङ्ग, केशरजंग अधिकारी,शुक्रराज काफ्ले, धन बहादुर राना, इन्द्र बहादुर मास्की, लगायतले विद्यालयको ६७ औं बार्षिकोत्सवको शुभकामना र उत्तरोत्तर प्रगतिको कामना गर्दै आवश्यक परेको खण्डमा आफूहरुले सक्दो सहयोग गर्ने व्यक्त गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम रानाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।