नेपाली सेना नागरिकको स्वास्थ्य परिक्षणमा

२०८१ जेष्ठ १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,१९ जेठ । नेपाली सेनाले ग्रामिण क्षेत्रका नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिदिएको छ । बिशेषज्ञ चिकित्सक सहितको टोलीले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य परिक्षण गर्न नेपाली सेनाले व्यवस्थापन गरेको हो । बिशेषज्ञ सहितको स्वास्थ्य सेवा लिन स्याङ्जा सदरमुकाम देखी पोखरा पुग्न बाध्य भएका बिरुवा गाउँपालिकाका नागरिकलाई नेपाली सेनाले स्वास्थ्य शिविर मार्फत निःशुल्क स्वास्थ्य परिक्षण गरिदिएपछि यहाँका झण्डै ७ सय नागरिक लाभान्वित भएका छन् ।

स्याङ्जाको बिरुवा गाउँपालिका ८ मेथाभुरुङमा नेपाली सेनाले दुई दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । सिंह शार्दुल गुल्म आँधीखोला व्यारेक स्याङ्जाले समन्वय गरेको शिविरमा नेपाली सेनाका स्वास्थ्य चिकित्सिक, जिल्ला अस्पताल स्याङ्जाका चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गरिएको गुल्मपति पुरुषेत्तम कार्कीले जानकारी दिनुभयाे । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी, ब्लड प्रेसर, मधुमेह, ग्यास्ट्राइटिस, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटी, आँखा, पेट, छाती तथा मुटु रोग, छाला तथा यौन रोग, नशा रोग र दन्त चिकित्सक सेवाको साथै प्रकोपजन्य रोगको स्वास्थ्य परिक्षण र उपचार गरिएको थियो । जसबाट ६ सय ७८ जना नागरिकले प्रत्यक्ष बिशेषज्ञ चिकित्सकको सेवा पाएको गुल्मपति कार्कीले बताउनुभयाे ।

नेपाली सेनाले सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेर नागरिकको सेवामा खटिने पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लव पौड्यालले बताउनुभयाे । नेपाली सेना देश र नागरिकको सुरक्षाको पहिलो अंग हो पृतनापति पौड्यालले भन्नुभयाे,‘हरेक विपतमा मात्रै सेना खटिने होइन, सामान्य अवस्थामा पनि यस्ता कार्यक्रम लिएर नागरिक माझ पुग्ने गर्छ ।’ सेनाले आफ्नो काम कर्तव्य र अधिकारमा कहिल्यै चुक्दैन र चुक्न पनि दिदैन उहाँले भन्नुभयाे । स्वास्थ्य नागरिक भएमात्रै स्वास्थ्य सेना उत्पादन हुने भन्दै उपरथी पौड्यालले जुनक्षेत्रमा स्वास्थ्यको पहुँच कमजोर छ त्यहाँ सेनाको सहभागिता रहने बताउनुभयाे । निशुल्क स्वास्थ्य शिविरमा सहभागी हुने नागरिक र स्वास्थ्य परिक्षणमा खटिने चिकित्सकहरुलाई उपरथी पौड्यालले प्रंशसा सहित धन्यवाद दिनुभयाे ।

नेपाली सेनाको ३ नं बाहिनी अड्डा र ३ नं फि.ए. गुल्मको सहकार्यमा सेनाको सैनिक अस्पताल पोखरा र ३ नं फि.ए. गुल्मबाट साथै स्याङ्जाका स्वास्थ्य कार्यालयहरुबाट खटिएका विशेषज्ञ चिकित्सकहरुद्वारा शिविरमा स्वास्थ्य परिक्षण एवं उपचार सम्पन्न भएको सेनाले जनाएको छ । शिविरमा १ सय ५१ पुरुष, ३ सय ५७ महिला र १ सय ७० जना बालवालिकाले स्वास्थ्य परिक्ष्ण सगै उपचार पाएका थिए । शिविरलाई सम्पन्न गर्न गाउँपालिकाले सहयोग गरेको थियो । शिविर समापनमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शालिग्राम शर्मा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक शुसान्त बराल, सशस्त्र प्रहरी बल वालिङ स्याङ्जाका प्रमुख प्रहरी नायव उपरिक्षक देवराज जोशी, गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको आँधीखोला व्यारेकका गुल्मपति कार्कीले बताउनुभयाे ।

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरले धेरै फाईदा पुगेको स्थानीयले बताएका थिए । बेला—बेलामा यस्ता शिविरहरु आयोजना गरिदिन स्थानीयले नेपाली सेनालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय