सीआईबीले गर्यो ‘डार्क फाइल’ ‘फेक’ भएको पुष्टि

२०८१ जेष्ठ २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

काठमाडौँ २२ जेठ । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी, सञ्चार उद्यमी र पत्रकारसमेतलाई लाञ्छित गरी ‘सिधाकुरा डटकम’ मा ‘डार्क फाइल’ नाम दिएर प्रसारित सामग्री ‘फेक’ नै पुष्टि भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकारीले ‘डार्क फाइल’ नाम दिएर प्रसारित उक्त सामग्री ‘फेक’ भएको तथ्य प्रयोगशाला परीक्षणबाट पुष्टि भएको बताउनुुभयो । सीआईबी स्रोतका अनुसार प्रतिवेदनमा फेक अडियो बनाउने र प्रसारण गर्नेमाथि विद्युतीय कारोबार ऐन २०६३, मुलुकी अपाराध संहिता २०७४ का झूटा प्रमाण बनाउन नहुने भन्ने दफा र संहिताकै अमानवीय र अपमानजनक व्यवहार गर्न नहुने भन्ने कसुरमा अनुसन्धान गर्न गर्नुपर्ने राय पनि अदालतमा पेस गरिएको छ ।

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले प्रयोगशालाको परीक्षण प्रतिवेदन जेठ १४ मा महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेस गरिएको बताउनुुभयो । उनले प्रतिवेदनमा समेटिएका विषयबारे भने खुलाउन चाहेनन् ।

प्रतिवेदनमा भएका विषय अदालतमा न्यायिक निरूपणका क्रममा रहेकाले आफूले यसबारे केही बोल्न नमिल्ने कार्कीको भनाइ छ । ‘अदालतको अवहेलनासम्बन्धी मुद्दासँग सम्बन्धित अडियोको परीक्षणका लागि अदालतको आदेशअनुसार प्रहरीमा आएकामा त्यसको विषयवस्तुको प्राविधिकरप्रयोगशाला परीक्षण गरी अनुसन्धान प्रतिवेदन अदालतमा पेस गरिसकेका छौं,’ प्रवक्ता कार्कीले भने, ‘यो विषयको न्यायिक निराकरण अदालतबाट हुनै बाँकी रहेकाले थप केही उल्लेख गर्न मिल्दैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका स्टिङ अपरेसनसम्बन्धी भ्रष्टाचारका मुद्दा मिलाउन सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता हरि उप्रेती, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासहितका व्यक्ति सम्मिलित बैठकको स्टिङ अपरेसन भन्दै सिधाकुरा अनलाइन र अनलाइनको युट्युब च्यानलमार्फत २०८० वैशाख १४ मा ‘डार्क फाइल’ नाम दिएर अडियो सामग्री प्रसारणर प्रकाशन गरिएको थियो ।
यो समाचार आजको कान्तीपुुरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय