हिन्दू तथा नेपाली समाजमा विविध चाडपर्वहरू परम्परा देखि मनाउने गरिन्छ। पर्वहरूको आफ्नै मौलिक बिशेषता रहेको हुन्छ। तीज पर्व पनि परम्परा अनुसार मनाउँदै आइएको पर्व हो। तीज विशेष गर्दा बिहे गरेर घर गएकी चेली माइती आउने आफ्ना सुख दुःख का वेदना माईतीमा सुनाउने आमा भाउजु बुहारीले पकाएको मीठो खाजा खाने पर्वको रुपमा परम्परागत समयमा मनाइने पर्व थियो। तीज दाजु भाइ दिदी बहिनीको आपसी सम्बन्ध कायम राख्न सहज बनेको छ भने पर्वको रुपमा विकसित हुँदै अघि बढेको पनि छ।
सुरुवातमा नारी घर भित्र मात्र सीमित भएका कारण पुरुष सरह हक अधिकार नभएका कारण विभेद देखिन्थ्यो महिलालाई शिक्षा दिक्षामा बन्देज थियो । जसले गर्दा साहित्यिक क्षेत्रबाट नारीहरूले तीजलाई विशेष पर्वको रुपमा लिएर आफ्ना वेदना पोख्ने समाजमा भएका घटनालाई उजागर गर्ने बोल्न नसक्ने हेपिएर रहेका परिवार भित्र रहेका नारीको वेदना प्रस्तुत गरेर समाजमा समस्या विभेद गीत मार्फत उजागर गर्दथे। शिक्षा दिक्षा नलिए पनि आफूले गुजारेको परिवेश खुलेर पोख्न सक्षम थिए। जसले गर्दा तीजले छुट्टै बिशेषता बोकेको देखिन्थ्यो।
आज भोलि परम्परागत समयको तुलनामा धेरै छुट नारीहरुलाई छ। आर्थिक उपार्जनमा पनि उत्तिकै सहभागिता रहेको छ। नारी स्वतन्त्रताको लागि पुरुष हरु पनि लागि परेको समय छ। समाजमा विभेद हुनुहुँदैन भन्दै विभेद विरुद्ध आवाज हरु उठेका पनि छन् । पहिले पहिले नारीहरू समस्या परेको तीजको गीत स्वरुप प्रस्तुत गर्थे भने अहिले विभेद भयो भने अदालत पुग्ने परिपाटी पनि रहेको छ। नारी स्वतन्त्रताको लागि विविध कानुन बन्दै गर्दा नारी शिक्षित बन्दै गर्दा अहिलेको तीज पर्व देख्दा पर्व प्रति विकृति जस्तो देखिन्छ। तीजको नाममा विविध नकारात्मक गीतहरुले समस्या बनाएको छ भने समाजमा परिवारमा रहेर देख्न पनि नसकिने अश्लिल भिडियोहरु सार्वजनिक भएका छन् । यो पर्वको नाममा भएको बेथिति हो। यसले राम्रो संदेश दिन सक्दैन । परम्परागत समयको तुलनामा शिक्षित र दीक्षित नारी हुँदै गर्दा समाजमा सचेतना स्वास्थ्य विकास समाधान सम्बन्धी गीतहरु प्रस्तुत गर्नुपर्ने सुनाउनु पर्ने ठाउँमा पाँच तारे होटलमा बसेर संस्कृति लोप हुने किसिमबाट विचलन फैलाउने तवरबाट प्रस्तुत हुनु राम्रो विषय होइन । नारी वस्तु साधनको रुपमा नभई कन आधा आकाश ढाकेका नारी विकासका साधक बन्नु जरुरी छ।
सुरुवाती समयमा महिलाहरुले अन्तराष्ट्रिय स्तरमा गरिएका आन्दोलन नारीका अङ्ग प्रदर्शन गर्नका लागि नभै महिला नाङ्गिन नभई विवेकी तवरमा नारी अघि बढ्न सकुन् विकासमा सहयोगी बन्न सकुन् भनेर गरिएका आन्दोलन हुन । समाज मा पुरुष सरह महिलाको पनि प्रतिनिधित्व रहन सकोस्। समान सहभागितामा अघि बढ्ने समाज निर्माण गर्न सकियोस् । राजनीति आर्थिक सामाजिक क्षेत्रमा प्रतिनिधित्व गर्न सक्ने क्षमता महिलामा पनि देखा पर्न सकोस् भनेर गरिएको आन्दोलन हो। समाज तथा राष्ट्रमा विकासमा अग्रसरता रहन सकुन् राज्यले महिला पुरुषलाई विभेदी तवरबाट हेर्न नसकोस् विभेद भयो भनेर आवाज निकाल्न नपरोस् भन्ने तवरबाट प्रस्तुत हुनुपर्नेमा महिला नै महिलाको विरोधी बन्नु पर्ने स्थिति पनि सृजना हुन थाल्यो। कुनै समय सासु बुहारी नन्द अमाजु बीच यस्तै विभेद भयो भनेर गुनासोहरु आउँथे भने अहिले पनि यस्ता प्रविर्ती नदेखिएका होइनन् । समाजमा यस्ता विविधता पनि छन् तर सक्षम भई सकेपछि त्यसलाई चिर्न माध्यम खडा भएको छ।
परम्परागत घुमन्ते फिरन्ते समयमा सिकारी गर्नको लागी महिला पुरुषको बराबर सक्रियता रहन्थ्यो र महिला पुरुष बीच विभेद देखिँदैनथ्यो । जब समयको माग अनुसार जिम्मेवारीमा फरक पन आउँदै गर्दा महिला पुरुष बीच विभेद पनि बढ्न थाल्यो। आर्थिक स्थितिमा सामना सहभागिता हुँदा विभेद नरहेको देखिन्छ भने जब परिस्थिति र समयले कार्य विभाजन हुन पुग्यो महिलाहरु घरको काममा सिमित रहन थाले तब नारी पुरुषको जिम्मेवारी अलग र विभेदको अवस्था सृजना भएको देखिन्छ।
महिलाहरु घर भित्र नै सीमित रहनुपर्ने जुन समय थियो अहिले धेरै परिवर्तन आएको छ। अहिले धेरै स्वतन्त्रता रहेको छ । अहिलेको स्वतन्त्रता ल्याउनमा अग्रज आमा दिदी हरुले ठूलो योगदान गर्नुभएको छ। जंगली युगमा रहदा जीवन निर्वाहको लागि आवश्यक खाना खोजी गर्नुपर्ने समय नारी पुरुष दुबैको सहभागिता रहन्थ्यो। त्यतिबेला समान अधिकार थियो। वितरणमा नारीको जिम्मा रहन्थ्यो। जब सामूहिक जीवन यापनको समय आयो महिलाहरु सन्तान उत्पादन र स्याहार संहारमा भुल्न थाले । पुरुष सङ्ग सँगै सिकार गर्न समय रहेन। कार्यगत रुपमा भूमिकामा परिवर्तन आयो। कार्यक्षेत्रको आधारमा पुरुषको महत्वपूर्ण भूमिकाका कारण शक्तिशाली बन्न पुगे। जब उत्पादन र वितरणबाट नारीको भुमिका घट्न थाल्यो ।
त्यसै गरी पासाण कृषि युगमा कृषि कार्यका लागि औजारको प्रयोग हुन थाल्यो । औजारको प्रयोगबाट पुरुष कुशल र निपुण हुँदै गए। महिलाको कार्य क्षेत्र सीमित बन्दै जाँदा पछि पर्न थालेको देख्न सकिन्छ। अठारौं शताब्दीमा नारी र पुरुष समानताको लागि अमेरिका तथा युरोपबाट आन्दोलन सुरु भएको थियो।अमेरिकाका महिलाहरुले मताधिकार र सामाजिक समानताको माग राखेका थिए र आन्दोलन अघि पुर्याएका थिए। नारीहरूले राजनैतिक आन्दोलन संघर्ष र साहित्य समालोचनाको साथमा नारी को उपस्थिति प्रस्तुति र दृष्टिकोण राख्दै अघि बढ्न थाले। यसरी नारीवादी आन्दोलन ले रूप लिँदै जादा महिला र पुरुष बीच समानताको आधारमा सुधारको अवधारणा लिएर उदार नारीवाद देखिन थाल्यो र लैगिक विभेदका बिरुद्द धारणा आउन थाल्यो। यसै गरी आमूल माक्सवादी समाजवादी गरी विविध नारीवादी आन्दोलन हुँदै महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्दछ यसको लागि नारी अग्रसर हुनुपर्छ भन्दै महिलाहरुले झेलेका उत्पीडन, प्रस्तुति, यथास्थितिको विद्रोह को साथै अस्तित्व र पहिचानको खोजी गर्नुपर्छ भन्दै अघि बढेको पाइन्छ। यसै क्रममा बीसौं सताब्दीमा नारी सशक्तिकरणमा ओसोको ठूलो योगदान रहेको पाइन्छ। उनको नारी और क्रांति सबै भन्दा महत्वपूर्ण पुस्तक मानिन्छ। ओसोले स्त्री हरुको स्वतन्त्रताको लागि आवाज बुलन्द गरेको पाइन्छ । उनले स्त्री जगतलाई उचाइ दिएका छन्। ओशोले नारीलाई जति सम्मान दिए त्यति सम्मान अरु कसैले दिएको देखिदैन । उनी विश्वमा बढी चर्चित र नवीन दर्शन दिने गरी प्रस्तुत भएर रहे। ओसो भन्दा अघि धर्मको जगतले नारीलाई अपमान गरेको देखिन्छ भने धर्म जगत सधै नारी प्रति भयभीत पनि देखिन्छ। सन्यासी, साधु महात्माहरु नारी प्रति भयभीत हुँदै घर परिवार समाज बालबच्चा छोडेर बन र गुफामा पलायन भएको देखिएको छ र आज भोलि पनि यस्तो प्रविर्ती देख्न सकिन्छ। ओशोले साधना को लागि घर परिवार समाज आमा बाबु श्रीमती छोड्न जरुरी नभएको बताउँदै घर समाज मा रहेर पनि साधना गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् भने सामाजिक सन्तुलन ल्याउन सहयोगी अवधारणा बनेको छ। नारी पुरुष एक सिक्काका दुई पाटा भन्ने पनि गरिन्छ तर भनाइ र व्यवहारमा त्यति नै फरक पनि छ। सुरुवाती चरणमा जारी विभेद अहिले छैन तर पनि केही विभेद भने देखिन्छ । मध्य तिरका नारीहरू जब घर भित्र सीमित रहे त्यतिबेला आफ्ना मनको कुण्ठा साहित्यिक पारामा ओकल्ने गर्दथे।
भेट्घाटको माध्यम तीज पर्व आफ्ना दिदी बहिनी साथी संघि जम्मा भएर आफ्ना वेदना तीजको लयमा गाएर मन हलुका बनाउने र वेदना पोख्ने गर्दथे। तीजको छुट्टै बिशेसता रहेको थियो। अहिले पनि तीजको छुट्टै बिशेसता छ दै छ। तीज वेदना पोख्ने माध्यम थियो भने अहिले त्यस्तो नभई गहना र अङ्ग प्रदर्शन गर्ने एक पर्व को रुपमा रहेको छ। जसले गर्दा पर्व प्रति वितृष्णा देखिन्छ। संस्कृति परम्परागत पर्वको रक्षा गर्ने खुशीले खुला चौर मा मनाउने पर्व को विकल्प मा एक होटल लज मा बसेर मनाउने प्रचलन ले पर्वको रुपमा विकृति देखिएको छ। आम्दानीको नाम मा मान सम्मान को ख्याल नगरी वस्तुको रूपमा अंग प्रदर्शन गर्ने एक थलो को रुपमा देखा परेको छ। पहिले पहिले नारीका वेदना कुण्ठा रोदन गीत को लयमा परिवार समाज साथीभाइ बसेर सुन्ने हेर्ने गर्ने मानसिकता मा परिवर्तन बनाएको छ। परिवार समाज समुह मा बसेर हेर्न पनि लाज लाग्ने भएको छ।
सुरुवातमा नारी हक अधिकार को लागि पुरुष सरह समान प्रतिनिधित्व को लागि लडेका अग्रजहरुले आज समाजमा भएका रीति संस्कृति लोप हुने किसिम बाट प्रस्तुत हुनु राम्रो विषय होइन । अग्रज को त्याग संघर्ष बलिदानी को कदर गर्दै संस्कृतिको जगेर्ना र लोप हुने प्रविर्ती बाट बचाउँदै मानव हुनु को सामाजिक दायित्व लाई महत्व दिएर अघि बढ्नु आजको आवश्यकता हो। आर्थिक उपार्जन गर्न सकुन् समान सहभागिता का साथ समान व्यवहार समाज मा महिला र पुरुषको रहोस समानता को लागि फेरि आन्दोलन गर्न नपरोस् भनेर आफूहरु महिलाको उत्थानको लागि होमिएका हुन । नारी स्वतन्त्रतामा अल्झिएका जन्जिर तोड्दै समान प्रतिनिधित्व राखेर समाज मा सम्मानित भएर अघि बढ्न प्रेरणाको स्रोत बनोस् भनेर समय खर्चेका हुन । यसको अवमूल्यन हुनेगरी कार्य नगरी समाज मा सकारात्मक तवरबाट अघि बढ्न समस्या मा समाधान लिएर र विकास मा साधक बनेर अघि बढ्न जरुरी छ।
पर्व हुनेखानेको मात्र नभएर हुँदा खाने को पनि पर्व हो । हुने खानेले गर्ने तडक भडक को कारण समाजमा हुदा खाने वर्ग प्रति समस्या हुनु राम्रो विषय होइन । सामान्य तरिकाले कसैलाई समस्या नपर्ने गरी तडक भडक नगरिकन चाडपर्व मनाउन आवश्यक छ। पर्वको महत्व ख्याल गर्दै उद्धेश्यलाई पनि प्राथमिकतामा राखेर अघि बढ्नु आजको आवश्यकता हो। सकिन्छ सचेतना फैलाउने गरी अघि बढौ सकिँदैन भने तडक भडक गरेर समाज बिथोल्ने विचलन निम्त्याउने काम गर्नु राम्रो होइन ।
आउँदै गरेको तीज पर्व खुशी उमङ्गका साथ रमेर मनाउन सकियोस् आफ्ना कारणले कसैलाई समस्या नहोस् र समाजमा सकारात्मक संदेश फैलाउने किसिमबाट अघि बढ्न सकियोस् । दाजु भाइ दिदी बहिनी बीचको सम्बन्ध सुमधुर रहिरहोस् आर्थिक फरक पन का कारण सम्बन्ध मा समस्या नहोस प्रगाढ सम्बन्ध बनिरहोस् भन्दै सम्पूर्ण प्रति तीजको धेरै धेरै शुभकामना ।
पूजा खड्का
भिरकोट नगरपालिका,३ स्याङ्जा
(लेखक हेर्ने कुरा डटकम स्याङ्जा जिल्ला रिपोटर हुनुहुन्छ)