काठमाडौँ, १३ असोज। पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपालका अनुसार उक्त बसबाट ३ जनाको शव निकालिएको छ ।
सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उक्त बस गोरखाको लापुबेसीबाट छुटेको आंशका गरिए पनि यकिन भने भएको छैन । झ्याप्लेखोलामा अरु बस पनि पुरिएको आशंकामा अहिले खोजी कार्य भइरहेको उहाँले बताउनुभयाे ।
गोरखाको धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन शुक्रबारदेखि सम्पर्कमा रहेको छैन । शुक्रबार रातिदेखि बस कहाँ छ भन्ने नखुलेको गोरखा दरौंदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताउनुभयाे ।
उक्त यात्रुवाहक बस शुक्रबार बिहान ७ बजे लापुबाट छुटेको उहाँले बताउनुभयाे । ‘शुक्रबार राति करिब १० बजे धादिङको खानीखोलासम्म सम्पर्कमा रहेको बस त्यसयता सम्पर्कविहीन बनेको छ,’ उहाँले भन्नुभयाे । खोजीका लागि प्रहरीलाई पनि आग्रह गरिएको उहाँले बताउनुभयाे । बसमा कति यात्रु थिए भन्ने यकिन भएको छैन ।