स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ, यो अझ धेरै सुध्रनेछ, बीमा ५ लाख पुग्छ पुग्छ : स्वास्थ्य मन्त्री पौडेल

२०८१ कार्तिक ८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,८ कार्तिक।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सय दिनभित्र आम नागरिकको स्वास्थ्यमा सकारात्मक असर दिने गरी सक्नेसम्मको सुधार भएको र बाँकी सुधारको असर अझ देखिने बताउनुभएको छ ।

सय दिनको अवधिमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री पौडेलले हालसम्म भएका सुधारले पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताउनुभयो ।

‘संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा पूर्ण सुधार महसुस हुुनेछ । हामी सुधार गर्दैछौं । नागरिकलाई महसुस गराएरै छाड्छौं ।’

मन्त्री पौडेलले पत्रकार सम्मेलनमा क्यान्सर सेवालाई सातै प्रदेशमा पुर्याउने निर्णयदेखि मुटु रोग उपचार थप २ प्रदेशमा शुरु भैसककेको र सातै प्रदेशमा पुर्याउने निर्णय भएको सार्वजनिक गर्नुभयो।

नसक्नेका लागि नागरिकको जलन उपचार निःशुल्क बनाउने निर्णयदेखि स्वास्थ्य स्वयंसेविकाको यातायात निःशुल्क बनाउने निर्णय भएको कुरालाई मन्त्री पौडेलले प्रगतिका रुपमा सार्वजनिक गर्नुभयो।

उहाँले देशमा दक्ष चिकित्सक अभाव पूर्ति हुने गरी स्नातकोत्तर तहमा हाल वार्षिक एक सय १३ जना अध्ययन गराइरहेका सरकारी अस्पतालमा ४ सय अध्ययन गराउन सक्ने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट भएको निर्णयलाई ऐतिहासिक भन्नुभयो ।

लामो समयसम्म समायोजन हुन नसकेका चिकित्सकहरुको दरबन्दी समस्या समाधान हुने गरी गरिएको निर्णयलाई पनि मन्त्री पौडेलले महत्वका साथ प्रस्तुत गर्नुभयो। धेरै निर्णय दीर्घकालिन असर पार्ने खालका भएको र कतिपय निर्णयको असर देखिन थालिसकेको मन्त्री पौडेलले बताउनुभयो । देशमा हालसम्म स्नायु उपचार गर्ने केन्द्र नभएकामा स्थापना गर्ने गरी प्रक्रिया अघि बढिसकेको मन्त्री पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय