वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार ठहर

२०८१ मंसिर २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२१ मंसिर ।  नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ ।

भ्रष्टाचार ठहर भएको रकम कसुरदारबाट दामासाहीले असुलउपर हुने विशेषले बिहीबार राति सार्वजनिक गरेको संक्षिप्त फैसलामा उल्लेख छ । फैसलाअनुसार निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार तथा सञ्चालक समिति सदस्यद्वय बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगाना दोषी देखिएका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित गत चैत २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार रकममा अख्तियारको दाबीलाई विशेषले सदर गरे पनि अभियोग लगाइएकामध्ये निगमका अध्यक्षसहित ४ नेपाली र खरिदमा संलग्न विभिन्न कम्पनीका ७ विदेशीलाई मात्रै दोषी ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय