स्वास्थ्यमा आउने जटिलताहरूका बिषयमा डाक्टर दिर्घराज जोशीसगं गरिएकाे कुराकानी

२०८१ पुष १५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 8 मिनेट

औषधि खान नपाएर भन्दा पनि पाएको औषधि सही प्रयोग नगरेर अथवा नजानेर स्वास्थ्यमा आउने जटिलताहरू धेरै छन्। एउटा स्वास्थ्य रहन मानिसले जान्नै पर्ने कुरा समेटेर औषधिको ज्ञान स्वास्थ्य ज्यान नामक पुस्तक प्रकाशन गर्नुभएका डाक्टर दिर्घराज जोशी सगं हेर्ने कुरा डटकमकाे लागि कल्पना भट्टराईले गरेकाे कुराकानी

यहाँले प्रकाशन गर्नुभएको “औषधिको ज्ञान स्वस्थ ज्यान” नामक पुस्तकको बारेमा बताइदिनुस् न 

औषधि सही तरिकाले नखाएर वा खान नजानेर स्वास्थ्यमा आउने जटिलताहरू बढ्दै गइरहेका छन् । जसको एउटा नमुना हो विश्वभर नै चर्चा भइरहेको प्रतिजैविक प्रतिरोधको विकराल अवस्था । कतिपय एन्टिबायोटिकहरूले अहिले कामै गर्न छोडिसके। यसो किन हुन्छ त भन्दा, कतिपय अवस्थामा आवश्यक नपर्दा पनि जथाभावी यसको बिक्री वितरण र सेवन हुनुले जीवाणुहरूमा यी औषधिका विरुद्ध प्रतिरोध क्षमता विकास भयो।

नेपालको सन्दर्भमा त झन्डै ६०% मान्छेलाई औषधिको सही जानकारी छैन भनिन्छ । यसले गर्दा मान्छेहरूले मनलाग्दी खरिद गरेर खाने, चिकित्सकको निदानपत्र आवश्यक पर्ने औषधिहरू पनि जथाभावी किन्न पाइने र बिरामीले औषधिलाई हल्का रूपमा लिनुको परिणाम हो यो। त्यसैले मैले यो १६ वर्ष बढी जीवन औषधि र त्यसको आविष्कार प्रक्रियाको अध्ययन अनुसन्धानमा बिताए । त्यसैले औषधिका बारेमा आम नागरिकलाई आधारभूत जानकारी दिनुपर्छ, यसका राम्रा र नराम्रा पक्षबारे सुसुचित गराउनुपर्छ, नागरिक सचेतना र सरकार तथा यस पेशा व्यवसायमा आबद्ध व्यक्तिहरू सबैले आफ्नो भूमिका सहि तरिकाले निर्वहन गरेमा औषधिको विवेकपूर्ण प्रयोगको सुनिश्चितता हुन्छ भन्ने मेरो बुझाइ हो। त्यसैले यस पुस्तकमा औषधिको आधारभूत जानकारी, औषधि आविष्कारको प्रक्रिया, औषधिले शरीरमा कसरी काम गर्छ, औषधिका दुष्प्रभावबाट कसरी बच्ने, सामान्य साइड इफेक्टमा किन औषधि खान छोड्न हुँदैन, औषधि कसरी शरीरबाट निष्कासन हुन्छ, औषधिका सकारात्मक तथा नकारात्मक प्रभावहरू, औषधि-औषधि वा औषधि-खान बीचको अन्तरक्रिया लगायत थुप्रै कुराहरू जो हरेक स्वस्थ रहन चाहनेले जान्नैपर्ने  कुराहरू यस पुस्तकमा समेट्ने प्रयत्न गरेको छु।

अवस्था कस्तो छ भने, आधा जति औषधिहरू सही तरिकाले लेखिँदैन, सही तरिकाले वितरित हुँदैनन्,  त्यसैमा पनि आधा औषधिहरू सही तरिकाले प्रयोग हुँदैन। यस्तो स्थितिमा तपाईं हाम्रो शरीरमा रासायनिक तत्त्व औषधिले कस्तो प्रभाव पारेको होला? सोचौँ त तपाईँ हाम्रो शरीरका बारेमा हामीले नसोचे कसले सोचिदिन्छ? औषधि कम्पनीहरूले आफ्नो औषधि जति सक्यो धेरै बेच्नु छ। यसका लागि उनीहरूले आफ्ना बजार प्रतिनिधि मार्फत डाक्टर, फार्मासिस्ट लगायत हरूलाई  प्रभावमा लिन्छन् र सके सम्म धेरै औषधि लेखाउँछन् । कतिपय अवस्थामा बिरामीलाई औषधि नै आवश्यक हुँदैन । अनावश्यक रूपमा धेरै औषधिहरू/भिटामिनहरू लेखिएका छन् । यस्तो अवस्थामा आखिर मारमा पर्ने तपाईँ हामी हो। सहि उपचार र औषधि पाउँला र रोग निको होला भनेर स्वास्थ्य संस्था र चिकित्सक कहाँ जाने तर बिरामीले उल्टै औषधिको गलत प्रभावबाट स्वास्थ्यमा जटिलता भोग्नुपर्यो भने स्थिति कस्तो होला? अधिकांश स्वास्थ्यकर्मीहरू राम्रा पक्कै होलान् तर तपाईँले दिएको निर्देशन सही तरिकाले मान्नुभएन, आफू खुसी जथाभावी औषधि खाने र बीचैमा छोड्ने गर्नुभयो भने यसका प्रभावहरू के होलान्? त्यसैले यस्ता विषयवस्तुहरूमा विभिन्न उदाहरणसहित यस पुस्तक मार्फत समाजलाई जागृत गर्ने प्रयत्न गरेको छु।

किनकि जिम्मेवार नागरिक जागृत नभएसम्म र समाजमा भइरहेका अनिमितताका विषयमा नबोलेसम्म हाम्रो स्वास्थ्य प्रणाली सुध्रिनेवाला छैन। त्यसैले तपाईँ हाम्रो गाउँ टोल घर छिमेकमा गैरकानुनी औषधि पसलहरू वा दर्ता नगरी सञ्चालन भएका स्वास्थ्य संस्थाहरू त छैनन्? नेपालमा बेच्नै नमिल्ने औषधिहरू बिक्री वितरण भइरहेका त छैनन्? औषधिहरूको दुरुपयोग भएर कतै लागू औषधको रुपमा प्रयोग भइरहेका त छैनन्? चिकित्सकको निदानपत्र अनिवार्य आवश्यक पर्ने औषधिहरू समेत खुला रूपमा बिक्री वितरण भएका त छैनन्? जथाभावी एन्टिबायोटिक वितरण भएका त छैनन्? म्याद गुज्रिएका औषधिहरू बिक्री वितरण भएका त छैनन्? म्याद गुज्रिएका औषधिहरू जथाभावी फ्याकिएका त छैनन्? तोकिएको मूल्यभन्दा महँगोमा बेचिएका त छैनन्? यि सबैका बारेमा सम्बन्धित निकायमा तपाईं हामीले उजुरी नगर्ने, समाजलाई जागृत नगर्ने, रूपान्तरणका लागि तपाईँ हामी तयार नहुने हो भने, आखिर कसले गरिदिन्छ? त्यसैले यस्ता विषयहरू कोट्याउँदै मैले यस पुस्तकमार्फत आम नागरिकलाई जिम्मेवार हुन पनि अनुरोध गरेको छु।

त्यसैले यो पुस्तकको उद्देश्य,औषधिको बारेमा आधारभूत जानकारी दिनु, औषधिको सही प्रयोग, बिक्री वितरण, सही भण्डारण, औषधि औषधि बीच हुने प्रतिक्रियाहरू, औषधि र खानाबीच हुने प्रतिक्रियाहरू, औषधिको मात्रा र उपचार अवधि, एन्टिमाइक्रोबायल प्रतिरोध, शिशु र गर्भावस्था तथा विशिष्ट शारीरिक अवस्थामा  प्रयोग गरिने औषधिहरूको बारे, औषधिका सकारात्मक र नकारात्मक प्रभावहरू, औषधिका सामान्यतया देखिने नकारात्मक प्रभावहरू, औषधिका दुरुपयोगहरू, कस्ता कस्ता औषधि टुक्र्याउन मिल्छ मिल्दैन, खाली पेटमा वा खाना खाएर खाने औषधिहरू, स्वास्थ्य संस्था-स्वास्थ्यकर्मी-बिरामीहरूका काम कर्तव्य र अधिकारहरू, डाक्टरले अनावश्यक औषधि लेखेको कसरी थाहा पाउने, एउटै काम गर्ने महँगोको सट्टा सस्तो औषधि कसरी प्राप्त गर्ने, यदि कुनै गलत अभ्यास भएको भेटिए सम्बन्धित निकायमा उजुरी कसरी गर्ने लगायत अनेक कुराहरूमा यस पुस्तकले जानकारी दिने प्रयत्न गरेको छ।

औषधिको विवेकपूर्ण प्रयोग बारे एउटा मानिसले जान्नै पर्ने कुराहरू के के हुन्?

माथि भनिएझैँ हरेक नागरिकले औषधिका बारेमा आधारभूत जानकारी राख्न जरुरी छ। अहिले जुन तरिकाले सामान्य शारीरिक दुखाइ अथवा रुघा खोकीमा औषधिहरूको व्यापक दुरुपयोग भएको छ, यो कुरा तत्काल सच्याउन जरुरी छ। कतिपय सामान्य स्वास्थ्य समस्यामा औषधिको जरुरी नहुन सक्छ, त्यसैले औषधि खाएर मात्र सन्चो हुन्छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ। विश्वमा १० हजार बढी दुर्लभ रोगहरु माथि अध्ययन भएको छ तर केवल ५% जतिको मात्रै अहिलेसम्म उपचार छ। त्यसैले औषधिको विवेकपूर्ण प्रयोगलाई प्रवर्द्धन गर्न नागरिक सचेतना, पेशा व्यवसायमा आबद्धहरू जिम्मेवार, नियमनकारी निकायको प्रभावकारी प्रयत्न, र समग्र सरकारको प्राथमिकता पनि हुन जरुरी छ।

औषधिको प्रयोग गर्ने समय र मात्रा पालना अत्यन्तै आवश्यक छ, हमेशा औषधिको लेबल पढ्न जरुरी छ, औषधि लिने समयमा रक्सिको सेवन नगर्नुे र दूध अथवा जुससँग पनि औषधि खाने बानी छोड्नु पर्छ। औषधिका सामान्य साइड इफेक्ट देखि डराएर बिरामीले बीचैमा खान छोडिदिन्छ वा सन्चो भयो भन्ने बित्तिकै औषधि खान छोडिदिन्छ, यो गलत अभ्यासलाई सच्याउँदै पुरा कोर्स खाने गर्नुपर्छ। माथि भनिएझै हाम्रा उपचारहरू प्रभावकारी नहुनु, प्रतिजैविक प्रतिरोधको खतरा दिनानुदिन बढीरहनुको मूल कारण यही हो। चिकित्सकहरूले पनि प्रलोभनमा परेर जथाभावी औषधि लेख्ने गरेका छन्। यसैले समग्रमा नागरिक सचेतना हुन जरुरी छ। खाना खाएझैँ गरेर निन्द्रा लगाउने औषधि जथाभावी खाएका छन्, चिकित्सकको सल्लाह बिना आफै किनेर एन्टिबायोटिकहरु खाएका छन्, सबै औषधि टुक्र्याएर खान मिल्दैन भन्ने जानकारी नहुँदा मनलाग्दी तरिकाले खाएका छन्। त्यसैले हरेक कुरामा सबै जिम्मेवार नभएसम्म औषधिको विवेकपूर्ण प्रयोगको परिकल्पना पूरा हुँदैन। अर्को कुरा आम नागरिक भ्रामक प्रचारहरु बाट बच्न जरुरी छ। जस्तै, छाला गोरो बनाउने, अनुहारमा चमक बढाउने, चाया पोतो र डन्डीफोरहरू निको गर्ने, कपाल झर्ने समस्या रोक्ने र कपाल उमार्ने, दाँत टल्काउने, स्तनको आकार बढाउने तथा टाइट गर्ने, लिङ्गको लम्बाइ तथा मोटोपना बढाउने तथा यौन अवधि बढाउने लगायत निकै भ्रमपूर्ण प्रचारहरू पछाडि लाग्न हुँदैन। यस्ता कुराहरूमा बजारमा विभिन्न माध्यमद्वारा धेरै गलत तथा गैरकानुनी रसायनहरू भित्रिएका हुन्छन्। आम नागरिक यस्ता कुराहरूबाट बच्न जरुरी छ र योग्य चिकित्सकको सल्लाह लिन जरुरी छ।

धेरै मानिसले मेडिकलबाट जथाभावी औषधि किनेर खान्छन्। यसले पछि झन् समस्या ल्याउने गरेको छ। यसलाई कसरी हेर्नुभएको छ?

हो, आजको मूल समस्या यही हो। औषधिलाई सामान्यतया दुई भागमा बाँड्न सकिन्छ। एउटा आफै किनेर खान सकिने जसलाई ओटिसी औषधि भनिन्छ। र अर्को थरी औषधि जो चिकित्सकको निदानपत्र अनिवार्य आवश्यक पर्छ। हाम्रोमा यी दुवै प्रकारका औषधिहरूको व्यापक दुरुपयोग छ। आफै किनेर खान सकिने औषधिका बारेमा माथि भनिएझैँ आधारभूत जानकारी हुन जरुरी छ। र आवश्यक पर्दा मात्र दिइएको निर्देशनहरू राम्रोसँग पढेर प्रयोग गर्न सकिन्छ। तर जथाभावी रूपमा सामान्य दुखाई, ज्वरो रुगाखोकीमा दुरुपयोग गर्नु हुँदैन। किनकि औषधि भनेको शुद्ध रसायनिक तत्त्व हो। यसका शरीरमा सकारात्मक प्रभावका अलावा पनि आवश्यक नभएका प्रभावहरू देखापर्छन्। कहिलेकाहीँ सही ढङ्गले प्रयोग नगर्दा यी सहायक प्रभावहरू विकराल रूपमा हानिकारक हुनसक्छ।

अब अर्को थरी, चिकित्सकको निदानपत्र आवश्यक हुने औषधि पनि खुला रूपमा बिक्री वितरण भइरहेका छन्। यो हाम्रा नियमनकारी निकायहरूको असक्षमताको एउटा परिणाम हो। नेपालमा नियमनकारी निकाय औषधि व्यवस्था विभागले समयसमयमा सूचनाहरू निकाल्छ र केही छिटपुट बजारमा छापा पनि मार्छ। तर यो पर्याप्त देखिँदैन। निर्मम भएर कडा रूपमा बजारको व्यवस्थापनमा उत्रिन जरुरी छ। बजार अत्यन्तै खुकुलो हुँदा, औषधि व्यवसायीहरूले यसैमा व्यापारिक/नाफामुखी दृष्टिकोण राख्दा र आम नागरिक पनि चाँडो सन्चो हुने अपेक्षाले गर्दा अत्यन्तै धेरै औषधिको दुरुपयोग भएको छ। मनलाग्दी रूपमा शरीरमा भिटामिनको अवस्था कति छ भन्ने कुरा परीक्षण नगरिकनै भिटामिन खाइएका छन्। भाइरल सङ्क्रमणमा जथाभावी रूपमा एन्टिबायोटिकहरू प्रयोग भएका छन्। त्यसैले औषधिको आधारभूत समग्रता बुझ्न र कुशल अभ्यासमा अग्रसर हुन यो पुस्तक हरेकले पढ्नुपर्ने देख्छु म।

नेपालको सुदूरपश्चिम जिल्लाको ग्रामीण क्षेत्रमा जन्मेर पनि विश्वकै सबैभन्दा ठूलो अमेरिकाको बायोमेडिकल अनुसन्धान केन्द्रमा औषधिय रसायन विज्ञानमा अनुसन्धाताको रूपमा कार्यरत हुनुहुन्छ। कुनै भाइरस विरुद्धको खोपको लागि पनि काम गर्नुभएको छ कि?

हैन, मेरो कार्यक्षेत्र भनेको भ्याक्सिन होइन। मैले अहिले कार्य गरिरहेको भनेको कोरोना भाइरसको औषधि आविष्कारमा हो। यसका लागि हामीले हजारौँ स्मल मोलिकुल (रासायनिक यौगिक) बनाउँछौ। र त्यसलाई कोरोना भाइरसका विरुद्ध प्रभावकारी छ कि छैन भनेर परीक्षण गर्छौ। भ्याक्सिनले तपाईँको शरीरको प्रतिरक्षा विकास गरी यसका विरुद्ध शरीर लड्न तयार अवस्थामा राख्छ। तर हामीले बनाउने औषधि बजारमा पाउने ट्याब्लेट, क्याप्सुल जस्तै हो। भाइरस लागिसकेपछि पनि सहज रूपमा उपचारमा प्रयोग हुन सकोस् भनेर यस्ता औषधिहरू अत्यन्तै प्रभावकारी र आवश्यक हुन्छ। जसमा मेरो अहिलेको अनुसन्धान केन्द्रित छ। यसका अलावा पनि मैले बुनियाँ भाइरसमा कार्य गरिरहेको छु।

“औषधिको ज्ञान स्वस्थ ज्यान” नामक पुस्तक १० हजार बालबालिकालाई निःशुल्क बाँड्ने अभियानमा हुनुहुन्छ। यसको बारेमा केही बताइदिनुहुन्छ कि?

अलिकति सच्याउन चाहे, हामीले यो पुस्तक निःशुल्क बाँड्ने होइन। तर यस पुस्तकमा भएको सन्देशलाई निचोडमा पाँच पृष्ठमा लेखेर विद्यार्थीले प्रयोग गर्न सक्ने कापीका रूपमा नि:शुल्क वितरण गर्ने हो। यो कपीमा ८० पृष्ठ कोरा कागज छन् र ५ पृष्ठ औषधिका बारेमा आधारभूत जानकारी दिने सन्देशमूलक सामग्रीहरू समावेश छन्। यसको उद्देश्य भनेको हरेक दिन बालबालिकाले त्यो कपी प्रयोग गरिरहँदा केही लाइन भएपनि औषधिका बारेमा पढोस् र छोटकरीमा आधारभूत जानकारी कम्तीमा राखोस् भन्नु हो। हालसम्म हामीले धनगढीका  ६ वटा सरकारी विद्यालयमा ४ हजार बालबालिकालाई वितरण गरिसक्यौँ। र यो अभियान निरन्तर चल्नेछ। तपाईँले भनेजस्तै यो पुस्तक निःशुल्क प्राप्त गर्नका लागि समाजको मुठ्ठीदानबाट चलेका सङ्घसंस्थाहरु, आर्थिक अवस्था कमजोर भएका कारण पुस्तक किन्नै नसक्ने तर पढ्न चाहनेहरू लाई चाहिँ निश्चितप्रति निःशुल्क दिने गरेका छौं। म आफू यस पुस्तकको लेखकका रूपमा मैले कुनै पनि लेखस्व लिदिन र यस पुस्तकको बिक्री वितरणबाट प्राप्त रकम प्रकाशक हामी सक्षम नारीले यस्तै परोपकारी गतिविधिमा खर्च गर्नेछ। अर्को कुरा यो पुस्तक हामीले प्रशिक्षणको रूपमा प्रयोग गरिरहेका छौं। जस अन्तर्गत धनगढीमा रहेका हरेक विद्यालयमा जाने र विद्यार्थीहरूलाई औषधिका बारेमा आधारभूत जानकारी दिने र इच्छुकहरूले खरिद गर्ने गरेका छन्। र विद्यालयहरूले आफ्ना लाइब्रेरीमा राखिदिने गरेका छन्। देशैभरि सबै मान्छेले औषधिका बारेमा प्रशिक्षण पाउन्, सबै विद्यालयका तथा क्याम्पसका लाइब्रेरीमा यो पुस्तक होस् भन्ने मेरो कामना छ र यस कार्यमा सबैको सहयोग हुने पनि मैले अपेक्षा लिएको छु।

अमेरिकामा बसेर पनि स्वदेशमा नेपालीहरूको सेवा गरिरहनुभएको छ। नेपालमै बसेर जनताको सेवा गर्ने बारेमा के सोच्नुभएको छ?

अब खुलेर भन्दा हाल मैले गरिरहेको अनुसन्धान र प्रयोग हुने उपकरणहरू नेपालमा छँदै छैन भने पनि हुन्छ। केही छिटपुट प्रयत्नहरू चाहिँ भइरहेका छन्। मैले विद्यावारिधि सक्ने बित्तिकै नेपाल फर्किन चाहेको थिएँ। यदि तपाईँलाई जानकारी छ भने स्मरण रहोस्, त्रिभुवन विश्वविद्यालयले दिने मेरो डिग्री सर्टिफिकेटको समकक्षता प्रमाण पत्र प्रदान गर्न एक वर्ष लगायो। आफूले पाएको दुःखका विषयमा बोल्दा साइबरको अनुसन्धान दायरामा मलाई तानियो र पत्र काटियो। यि सबैका बावजुद पनि मलाई म हुर्केको समाजप्रति कसरी विनम्र भावले सेवा गर्न सक्छु होला भन्ने भाव हमेशा आइरहन्छ। र म त्यो दिशामा निरन्तर प्रयत्नसिल छु। नेपालमा औषधिको रूपमा परम्परागत तरिकाले प्रयोग भइरहेका विभिन्न वनस्पतिहरू र शास्त्रहरूमा वर्णन गरिएका विभिन्न वनस्पतिहरूको जुन उपचारमा उपयोगिता छ भन्ने छ त्यसलाई वैज्ञानिक रुपमा परीक्षण गर्ने मेरो इच्छा छ। मैले नेपालका विश्वविद्यालयमा प्रवेशको मौका पाएमा मेरो अनुसन्धान त्यस दिशामा केन्द्रित हुनेछ।

धनगढीका सरकारी विद्यालयमा औषधिबारे जानकारीमूलक सामग्री समावेश भएको कपी वितरणको दृश्य हो।

 

 

धनगढीका सरकारी विद्यालयमा औषधिबारे जानकारीमूलक सामग्री समावेश भएको कपी वितरणको दृश्य हो।

 

 

धनगढीका सरकारी विद्यालयमा औषधिबारे जानकारीमूलक सामग्री समावेश भएको कपी वितरणको दृश्य हो।

 

 

धनगढीका सरकारी विद्यालयमा औषधिबारे जानकारीमूलक सामग्री समावेश भएको कपी वितरणको दृश्य हो।

 

 

धनगढीका सरकारी विद्यालयमा औषधिबारे जानकारीमूलक सामग्री समावेश भएको कपी वितरणको दृश्य हो।

 

 

धनगढीका सरकारी विद्यालयमा औषधिबारे जानकारीमूलक सामग्री समावेश भएको कपी वितरणको दृश्य हो।

 

 

धनगढीका सरकारी विद्यालयमा औषधिबारे जानकारीमूलक सामग्री समावेश भएको कपी वितरणको दृश्य हो।

 

 

धनगढीका सरकारी विद्यालयमा औषधिबारे जानकारीमूलक सामग्री समावेश भएको कपी वितरणको दृश्य हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार