विराटनगर,३ माघ । विराटनगर महानगरपालिकाको आयोजनामा वडा कार्यालयबाट गरिने सिफारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यबाहक मेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ८ का अध्यक्ष राम पोखरेल, १० का अध्यक्ष अर्जुन गिरी, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का अध्यक्ष सूर्यलाल यादव, १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का अध्यक्ष प्रकाश साह, १६ का अध्यक्ष उद्धव भुलेज, १८ का अध्यक्ष जितेन्द्रकुमार साह र १९ नम्बर वडाका अध्यक्ष श्याम घिमिरेलगायतको उपस्थितिमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । वडाबाट गरिने विभिन्न सिफारिस गर्दा आइपर्ने कानुनी समस्यालाई कसरी समाधान गर्ने, नागरिकताको सिफारिस गर्दा के–केलाई आधार मान्नेलगायतका विषयमा जानकारी दिइएको थियो । वडाबाट गरिने सिफारिसका सम्बन्धमा आइपर्ने कानुनी जटिलता, समाधानका उपायका विषयमा वडाध्यक्ष र वडासचिवलाई मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले जानकारी दिनुभएकाे थियाे । वडा कार्यालयबाट विभिन्न ३४ किसिमका सिफारिस हुने गरेको महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले बताउनुभयाे ।
सिफारिस गर्दा दुविधा नहोस् भनेर विज्ञमार्फत वडाध्यक्ष र सचिवहरुलाई जानकारी दिन अनुशिक्षण कार्यक्रम राखिएको थपलियाले जानकारी दिनुभयाे । ३४ किसिमका सिफारिस र पञ्जीकरणका विषयमा सहायक प्रजिअ साहले सहभागीहरुलाई अवगत गराउनुभएकाे थियाे । कार्यक्रममा कार्यबाहक मेयर कार्कीले सिफारिस गर्दा कानुनी समस्या नआओस् र जनताले दुःख पाउनु नपरोस् भनेर वडाध्यक्ष र सचिवहरुलाई अनुशिक्षण कार्यक्रम राखिएको बताउनुभयाे । उहाँले अनुशिक्षणपछि सिफारिसका विषयमा विगतमा देखिँदै आएको समस्या हल हुने विश्वास व्यक्त गर्नुभयाे । निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुंगेलले नागरिकतालगायतका सिफारिस गर्दा संलग्न गर्नुपर्ने कागजपत्रका विषयमा जानकारी भए कानुनी समस्या नआउने बताउनुभयाे । अनुशिक्षणबाट धेरै नै जानकारी प्राप्त भएको उहाँको भनाइ थियो । एकदिने अनुशिक्षण कार्यक्रममा १९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य र सचिवहरुको सहभागिता रहेको थियो ।