टिचिङमा स्वास्थ्य बिमा खुल्यो

२०८१ माघ ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ। गत भदौदेखि बोर्डले लागु गरेको प्याकेजमा सेवा र सामग्रीको मूल्य अमिल्दो भएपछि अस्पतालले कार्यान्वयन गरेको थिएन ।

टिचिङमा गत पाँच महिनादेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको थियो । गत भदौदेखि स्वास्थ्य बिमा बोर्डले लागु गरेको बिमामा सुविधाशैली खारेज गरी प्रत्येक सेवा र सामग्रीको मूल्यअनुसार बिरामीले भुक्तानी दिने निर्णय गरेपछि भदौदेखि टिचिङ अस्पताल महाराजगन्ज र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले लागु गर्न अस्वीकार गरेका थिए ।

बिमा बोर्डले यो अस्पताललाई ६९ करोड रूपैयाँ भुक्तानी गरेको छैन। अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको समय २०७७ सालदेखि यताको भुक्तानी थपिँदै गएर ६९ करोड रूपैयाँ बाँकी रहेकाे छ । भुक्तानी गर्न बाँकी रकममध्ये २० करोड रूपैयाँको माग दाबी हेर्नै बाँकी छ भने एक करोड रूपैयाँ माग दाबी बोर्डले अस्वीकार गरेको थियो। एकातिर समयमा भुक्तानी नगर्ने र अर्कोतिर मागदाबी रकममाथि बोर्डले एक करोड रुपैयाँ अस्वीकार गर्दा अस्पताल समस्यामा परेको छ।

बक्यौता रकम तीन महिनाको अन्तरालमा भुक्तानी गर्ने बोर्डको प्रक्रिया छ। देशभरीको मागदाबीको समयमै भेरीफाइ गर्न नसक्दा समस्या उत्पन्न भएको हो। टिचिङसहित देशभरका अस्पतालमा बोर्डले ११ अर्ब भुक्तानी गर्न बाँकी छ। हालसम्म कुल जनसंख्याको २७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेको बोर्डले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय