केआइआइटीबाट लखेटिएका नेपाली विद्यार्थीलाई फर्काउन मध्यरात भारतीय प्रहरी ट्रेन स्टेसन पुगेपछि

२०८१ फाल्गुन ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,६ फागुन। भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआइआइटी) बाट लखेटिएका नेपाली विद्यार्थीलाई फर्काउन भारतीय प्रहरी नै लागिपरेका छन् । विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो ।

सो कलेजमा अध्ययनरत छात्रा प्रकृति लम्साल मृत भेटिएपछि तनाव सुरू भएको थियो । घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै प्रदर्शनरत नेपाली विद्यार्थीहरू जबरजस्ती होस्टलबाट निकालिएका छन् । दिल्लीस्थित नेपाली दूतावासको पहलपछि कलेजले विद्यार्थीलाई होस्टेलमा फर्काउन सहमति जनाएको छ ।

उक्त सहमतिपछि ओडिशाको बलेश्वरस्थित ट्रेन स्टेशनमा नेपाल फर्किन लागेका विद्यार्थीहरूलाई प्रहरीले होस्टल फर्कन दबाब दिएको केआइआइटीमा अध्ययनरत एक नेपाली विद्यार्थीले बताए ।

केआइआइटीमा हाल एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । सोमबार दिउँसो विश्वविद्यालय प्रशासनले दबाब दिएसँगै नेपाली विद्यार्थीहरू नेपाल फर्किन वा अन्यत्र सर्न बाध्य भएका थिए । हाल केही विद्यार्थीहरू आफ्नै पहलमा नेपाल फर्किन लागेका छन् भने केही विद्यार्थीले भारतमै विश्वविद्यालय बाहिर विभिन्न होटलहरुमा आश्रय लिइरहेका छन् ।

यसै क्रममा राती ११ बजे बलेश्वरमार्फत नेपालको यात्रा तय गर्न लागेका विद्यार्थीहरूलाई भारतीय प्रहरीले होस्टेल होस्टलको फर्कन जोडबल गरेका हुन् ।

‘हाम्रा केही साथीहरूको राती ११ बजेको ट्रेन थियो, हामी केही भने ५ बजेको ट्रेनमा अगाडी आइसकेका छौँ,’ नेपाल प्रेसको सम्पर्कमा आएका ती विद्यार्थीले भने, ‘अहिले बलेश्वरमा रहेका हाम्रा साथीहरूलाई जबरजस्ती होस्टल फर्किन भनिरहेका छन् । अवस्था शान्त नभएसम्म हामीलाई होस्टल फर्किन त्रास छ ।’

केआइआइटीले सोमबार दिउँसो नै नेपाली विद्यार्थी होस्टल फर्किन सक्ने सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय