क्रान्ति अर्याल
स्याङ्जा,२६ चैत । गल्याङ नगरपालिका–३ स्थित खेलमैदानमा “कृषि, उद्योग र पर्यटनको साथ खेलमैदान निर्माणको अभियान” भन्ने मूल नाराका साथ गल्याङ आँधीखोला महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव आगामी वैशाख ४ गतेदेखि १५ गतेसम्म आयोजना गरिने मंगलबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
तल्लो गल्याङ खेलमैदान व्यवस्थापन समितिको आयोजनामा स्थानीय तह, विभिन्न संघसंस्था र व्यवसायिक क्षेत्रको सहकार्यमा आयोजना हुने महोत्सवको उद्देश्य स्थानीय कृषि, साना तथा घरेलु उद्योग, पर्यटन प्रवर्द्धन साथै खेलमैदानको पूर्वाधार निर्माण गर्नु रहेको मुल आयोजक समितिका अध्यक्ष पदम बहादुर गाहाले जानकारी दिनुभयो ।महोत्सवमा वृद्ध, वृद्धा तथा अपाङ्ग व्यक्तिहरूको लागि प्रवेशमा निःशुल्क सेवा व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
महोत्सवमा कृषि तथा उद्योग प्रदर्शनी, स्थानीय उत्पादन र हस्तकला सामग्रीको बिक्री तथा प्रदर्शन, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, खेलकुद प्रतियोगिता, बालमैत्री कार्यक्रम लगायत विविध आकर्षण रहनेछन् ।
महोत्सवले स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने, युवामा उद्यमशीलता र खेलप्रतिको रुचि बढाउने तथा गल्याङ क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । त्यस्तै महोत्सवबाट संकलित रकम खेलमैदानको विकासमा खर्च गरिने जानकारी दिइएको छ ।