भूमि विहीनहरूलाई लालपूर्जा वितरण

२०७८ माघ २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिरहा , २७ माघ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहीनहरूलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताउनु भएकाे छ ।

बुधबार सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं। १ र २ (साविक रामपुर बिर्ता र मल्हनियाँ खोरी)मा विशेष नापी मार्फत नापी गरिएको गाउँब्लक जग्गाको पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले मन्त्रालयको प्राथमिकतामा नपरेको गाउँब्लकमा लालपूर्जा वितरण कार्यलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकता बनाएर काम गरिरहेको बताएकी हुन् । जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले २०२१ साल यता नापी हुँदा गाउँब्लकका रूपमा लामो समयदेखि थन्किएर बसेको कामलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको र यस वर्षभित्र लालपूर्जा वितरण गरिसक्ने लक्ष्यसहित अभियान नै सञ्चालन गरिरहेको पनि बताइन् । जमिन भएर पनि लालपूर्जा नहुँदा भूमिविहीन बनिरहेकाहरूको समस्या देशभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै अब कोही पनि भूमिहीन भएर बस्नु नपर्ने पनि मन्त्री श्रेष्ठको भनाइ थियो ।

संविधानमा भएका नागरिकको हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध भएर लागेको भन्दै मन्त्री श्रेष्ठले लामो र झन्झटीला प्रक्रिया छोट्याएर छिटो भन्दा छिटो काम गर्ने गरी अगाडी बढिरहेको पनि बताइन् ।सिरहामा गाउँब्लकमा रहेका एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिसक्ने कार्यक्रम रहेको छ । यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्नुभएकाे छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार