काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले लहडका भरमा संविधान संशोधन भए देश बहुआयामिक द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन् ।
मंगलबार राजधानीमा पार्टीले १५६ औँ लेनिन जयन्ती तथा नेकपा स्थापना ७६ औँ वर्ष पुरा भएको अवसरमा आयोजना भएको विचार गोष्ठीमा बोल्दै भुसालले चेतावनी दिएका हुन् ।
‘संविधान संशोधनका कुरा उठेको छ । शासकको लहडमा संविधान संशोधन हुने हो भने देश बहुआयामिक द्वन्द्वमा फस्नेवाला छ । कसैले धर्म निरपेक्षताको नाममा, कसैले निर्वाचन प्रणालीको नाममा, कसैले शासकीय स्वरूपको नाममा त कसैले समावेशीको नाममा संविधान च्यात्नेवाला छन्’, चेतावनी दिँदै उनले भने ।
भुसालले देश असफल हुने, नेता तथा पार्टी सफल हुने अवस्था देखिएकाले अहिले शासक जहाँ गयो त्यहीँ विरोध हुने अवस्था आएको बताए । यो तहसम्मको अविश्वास हुँदा समेत प्रधानमन्त्री केपी ओलीले वैशाख ११ गते भिड जम्मा गरेर आफू बलियो छु भनेर देखाउन खोजेको उनले आरोप लगाए ।