छोरीहरू आफैं सक्षम बन्नुपर्छ भन्ने सन्देश : वालिङमा आत्मरक्षा तालिम

२०८२ जेष्ठ ५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

क्रान्ति अर्याल
स्याङ्जा ,४ जेठ  । हालका दिनमा किशोरी तथा बालिका माथि हिंसात्मक घटना, साइबर अपराध र यौनजन्य दुर्व्यवहार बढ्दै गइरहेको अवस्थामा आत्मरक्षा केवल शारीरिक सुरक्षा नभई आत्मविश्वास र आत्मनिर्भरताको पहिलो खम्बा हो भन्ने सन्देश दिन सक्ने खालको एक महत्वपूर्ण कार्यक्रम स्याङ्जाको वालिङमा सम्पन्न भएको छ ।

 उक्त कार्यक्रममा विभिन्न विद्यालयका कुल ५४ जना छात्रा तथा किशोरीहरुको सहभागिता रहेको थियो ।

तालिमको पहिलो दिन सहायक हबल्दार तथा कराँते प्रशिक्षक तस्बिन पुनको टोलीद्वारा आत्मरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको थियो । त्यस्तै दोस्रो दिन पनि डेमो प्रस्तुती मार्फत आत्मरक्षा सीपहरूको पुनरावृत्ति गरिएको थियो ।

उक्त कार्यक्रममा वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक कुमार शर्माले साइबर अपराध सम्बन्धी जानकारी दिनुभएको थियो । त्यस्तै वालिङ गह्रौ प्राथमिक अस्पतालकी स्वास्थ्य निरीक्षक भोजकुमारी शर्माले यौन तथा प्रजनन स्वास्थ्यको विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी रेडियो आँधीखोला एफएमकी अध्यक्ष शान्ता थापाले प्रेम, विवाह र करिअर सन्तुलन बारे किशोरीको दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो भने आयुष्मा काफ्लेले ‘गुड टच र ब्याड टच’ को पहिचानका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

उक्त तालिम “आत्मविश्वास युक्त बालिका र किशोरी : लैङ्गिक हिंसा र विभेदको अन्त्य, समता र समानता सहितको न्यायपूर्ण समुन्नत समाजको निर्माण” भन्ने मूल नाराका साथ वालिङको सिटी हलमा भएको हो ।

उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय स्याङ्जामा प्रमुख जीवन पौडेलले यो तालिम केवल दुई दिनको कार्यक्रम नभई समाजमा सकारात्मक सोच, आत्मरक्षा सीप र सचेतनाको जग बसाउने अभियानको थालनी भएको बताउनुभयो । यसले किशोरीहरूलाई सशक्त बनाउन तथा उनीहरूको आवाज बुलन्द गराउन उल्लेखनीय भूमिका खेल्ने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय