विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास आवश्यक छ : प्रधानमन्त्री ओली

२०८२ असार २७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको बताउनुभएको छ ।

विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताउनुभयो । जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने तर आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्न नसक्ने उहाले बताउनुभयो । उहाले अहिले देखिएको जनसाङ्ख्यिक असन्तुलनलाई कायम रहन दिनु नहुने धारणा राख्नुभयो । विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने उहाले बताउनुभयो । .

जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दूरगामी प्रभाव पारेको एक अध्ययनले देखाएको छ । विगतको तुलनामा वर्तमानमा आर्थिक अभाव, असुरक्षा, स्वास्थ्य, शिक्षा, आवासलगायत विषयलाई दृष्टिगत गरी प्रजनन उमेरका युवायुवतीले बालबच्चाको चाहना कम गरेको अध्ययनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार