प्रकाश डोटेल
स्याङ्जा, २५ साउन । स्याङ्जामा दर्ता भएका उद्योगमा झण्डै ४८ करोड बराबरको लगानी भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा उद्योगतर्फ १७७ र वाणिज्य तर्फ १४२ गरी कुल दर्ता भएका ३१९ उद्योगमा ४७ करोड ८५ लाख मुल्य बराबरको लगानी भएको हो ।
आर्थिक वर्ष २०८१/०८२ मा नयाँ दर्ता भएका फर्ममध्ये उद्योगतर्फका १७७ उद्योगमा न्यूनतम १५ लाखका दरले २६ करोड ५५ लाख रुपैयाँ लगानी भएको पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाले जनाएको छ । कार्यालयका अनुसार वाणिज्य तर्फका १४२ फर्महरुमा २१ करोड ३० लाख रुपैयाँ लगानी भएको छ ।


जिल्लाका ११ पालिकामध्ये वालिङ, गल्याङ, र चापाकोट नगरपालिका तथा कालिगण्डकी, फेदीखोला र अर्जुनचौपारी गाउँपालिकामा बढि मात्रामा उद्योग थपिएको कार्यालय प्रमुख नारायण ढकालले बताउनुभयाे । फलफूल प्रशोधन र व्यवसायिक पशुपालनतर्फ नयाँ उद्योग बढि थपिएको उहाँले बताउनुभयाे ।
नयाँ उद्योगमा ४७ करोड ८५ लाख लगानी भएसँगै जिल्लामा दक्ष, अर्धदक्ष र अदक्ष कामदारलाई रोजगारी सिर्जना भएको छ । थपिएका उद्योगमा करिब ६ सय ७३ जनाले रोजगारी पाएको जानकारी दिदै कार्यालयले उद्योगमा झण्डै ५३१ र वाणिज्यतर्फका १४२ फर्ममा एक जनाका दरले १४२ जना कामदारले रोजगारी पाएको जनाएको छ ।
नयाँ र पुराना उद्योगमा १२ अर्ब १९ करोड ९५ लाख लगानी छ । जिल्लामा हाल ८ हजार १३३ उद्योग संचालनमा छन् । त्यसैगरि वाणिज्य तर्फका ५ हजार ७०६ फर्ममा ८ अर्ब ५५ करोड ९० लाख गरी हालसम्मका १३ हजार ८३९ फर्ममा २० अर्ब ७५ करोड ८५ लाख लगानी भएको छ ।
२०३९ सालदेखि दर्ता भएका उद्योगमा २४ हजार ३९९ जनाले रोजगारी पाएका छन् भने २०६० देखि दर्ता भएका वाणिज्य फर्ममा झण्डै ५ हजार ७ सयले रोजगारी पाएको कार्यालयका कम्प्यूटर अपरेटर कृष्ण लम्सालले जानकारी दिनुभयाे । २० अर्ब ७५ करोड ८५ लाख लगानी भएको क्षेत्रले झण्डै ३० हजारलाई रोजगारी मिलेको लम्सालले दाबी गर्नुभयाे ।