काठमाडौँ, ३० साउन । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ऐतिहासिक नाफा वृद्धिको नतिजा सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हाे ।
जुन अघिल्लो वर्षमा सोही अवधिको ४३ करोड ३९ लाख रुपैयाँभन्दा २०१.९७ प्रतिशतले बढी छ।


यो उल्लेखनीय वृद्धि मुख्यतया खुद ब्याज आम्दानीमा आएको ९.९१ प्रतिशतको वृद्धि र कर्जा तथा अग्रिममा भएको क्षति व्यवस्थापन खर्चमा आएको तीव्र गिरावटका कारण भएको हो। बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको ३ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने क्षति व्यवस्थापन खर्च ६८.५६ प्रतिशतले घटेर ५३ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको निक्षेप ६.९६ प्रतिशतले बढेर ९० अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ७.३२ प्रतिशतले वृद्धि भई ६९ अर्ब ३२ करोड रुपैयाँमा पुगेको छ। सञ्चालन नाफा १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९५.५८ प्रतिशतले बढी हो।
वित्तीय सूचकहरूमा समेत सुधार आएको छ। पूँजी पर्याप्तता अनुपात १३.४७ प्रतिशतमा कायम रहँदा असुल नहुने कर्जा (NPL) ४.८५ प्रतिशतबाट घटेर ४.७२ प्रतिशतमा झरेको छ। लागतकोष ६.६४ प्रतिशतबाट घटेर ४.८४ प्रतिशतमा पुगेको छ।