राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिबीच शिष्टाचार भेट

२०८२ भाद्र ९, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनले शिष्टाचार भेट गरेकी छन् । नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति सुआनले सोमबार राष्ट्रपति पौडेललाई भेटेकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए । त्यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक रहेको जानकारी गराएका थिए ।

सो अवसरमा भियतनामका उपराष्ट्रपति सुआनले नेपालले सन् २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देश बिच वृहत सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताएकी थिइन् । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय