गूठी संस्थानमा अनियमितता गरेको भन्दै अध्यक्षलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण,अध्यक्षले टेरेनन्

२०७९ श्रावण २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौँ,२७ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठी संस्थानमा अध्यक्षको पदमा रही विभिन्न अनियमितता गरेको भन्दै पुण्य भुसाललाई स्पष्टीकरण सोधेको छ तर जवाफ पाएको छैन ।

संस्थागत हितभन्दा पनि व्यक्तिगत हितमा बढी लागिपरेको, काम गर्दा मन्त्रालयसँग कुनै समन्वय नगरेकोलगायतका आरोप लागेका अध्यक्ष भुसाललाई तीन दिनभित्र जवाफ दिनुपर्ने भन्दै मन्त्रालयले सोमबार पत्र पठाएको थियो । तर, बुधबारसम्म भुसालले जवाफ नपाठाएको मन्त्रालय स्रोतले जनाएको छ ।

एमाले नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गर्दा अध्यक्ष नियुक्त भुसालले कसैसँग समन्वय नगरी आर्थिक प्रलोभनमा लागी संस्थाविपरीत काम गरेको आरोपमा मन्त्रालयले स्पष्टीकरण सोधेको हो । साउन १९ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार भुसाललाई पत्र काटिएको र उहाँले आफू ‘सेरेमोनियल अध्यक्ष भएका’ कारण कुनै कार्यकारी भूमिका नै नलिएकाले जवाफ किन दिने भन्दै हिँडेको बाहिर आएको छ । बुधबार भुसाललाई पत्र लेखी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कारबाहीको प्रक्रियाका बढाएकाे जानकारी गराउनुभयाे ।

मन्त्री श्रेष्ठले अहिलेसम्म स्पष्टीकरणको जवाफ नआएको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘मन्त्रिपरिषद्को निर्णयअनुसार पत्र पठाइसकेका छौं । त्यसको जवाफ अहिलेसम्म आएको छैन ।’मन्त्री श्रेष्ठले कुनै राजनीतिक पूर्वाग्रहमा स्पष्टीकरण नसोधिएको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘राजनीतिक पूर्वाग्रह राखिएको भए तत्कालीन सरकारले अध्यक्षका साथ र कार्यकारी प्रमुखको पनि नियुक्ति गरेको थियो, दुवै राजनीतिक नियुक्ति हुन् । अध्यक्षमा पुण्य भुसाल र कार्यकारी प्रमुखमा किरण शाक्यलाई एकै दिनको मन्त्रीपरिषद्को निर्णयले नियुक्ति गरेको थियो । कार्यकारी शाक्यको अहिलेसम्म कुनै गुनासो छैन । यदि राजनीनिक पूर्वाग्रह हुन्थ्यो भने दुवैसँग जवाफ मागिन्थ्यो होला । तर, त्यसो गरिएको छैन ।’

मन्त्री श्रेष्ठले संस्थाको हितमा काम गर्ने जुनसुकै पार्टीको भए पनि हुने धारणा राख्दै राजनीतिभन्दा माथि उठेर संस्थाको हितमा काम गर्नसमेत आग्रह गर्नुभयो । ‘मेरो स्वभाव कस्तो छ धेरैले बुझ्नुभएकै छ । मैले राजनीतिकभन्दा पनि कामलाई प्राथमिकता दिन्छु, त्यसैले काम गर्ने मेरा मातहतका कुनै कर्मचारीलाई समस्या हुँदैन तर काम नगर्ने, राजनीति मात्रै गर्ने संस्थाको हितभन्दा पनि व्यक्तिगत हितमा लाग्नेहरूको भने खोजीनीति गर्नैपर्छ’ –मन्त्री श्रेष्ठले भन्नुभयो ।

मन्त्रालयसँग कुनै समन्वय नगरेको, कार्यालयका कुनै कर्मचारीसँग समन्वय नगरेको, जग्गा भाडामा दिँदा कमिसनमा लिप्त भएर संस्थाको फाइदाभन्दा पनि आर्थिक लोभमा फसेको, संस्थाप्रति गैरजिम्मेवार बनेको, संस्थाको हितमा काम गर्न नसकेको, संस्थाको कामभन्दा पनि व्यक्तिगत काममा काठमाडौं बाहिर हिँडेकोलगायतका थुप्रै आरोप लागेका भुसाललाई लिखित स्पष्टीकरणका लागि पत्र पठाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

कुर्सी जोगाउन चाकडी गर्दिनँ : भुसाल

गुठी संस्थानका अध्यक्ष भुसालले आफू सेरेमोनियल अध्यक्ष भएको हुँदा कसैको चाकडी नगर्ने बताउनुभएको छ । उहाँले कसैको चाकडी गर्न नचाहँदा यस्तो पत्र आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यद्यपि म काठमाडौं बाहिर थिएँ, पत्र आएको छ भन्ने सूचना पाएको त छु तर अहिलेसम्म हातमा परेको छैन ।’

राजनीतिक पूर्वाग्रहका साथ प्रतिशोधको भाव साँधेर यस्तो पत्र पठाइएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो – ‘म मन्त्रीको कारिन्दा होइन । गुठी संस्थानको काम गर्न आएको हुँ त्यो गरिहाल्छु । कसैको चाकडी गर्दिनँ ।’

उल्टै मन्त्रालयबाट असहयोग भएको बताउने अध्यक्ष भुसालले आफू संस्थामा आएपछि संंस्थालाई २३–२४ करोड रुपियाँ फाइदा भएको दाबी गर्नुभयो । गुठीमा थुप्रै बाँकी रहेका काम आफू आएपछि सकेको दाबी गर्ने भुसालले राजनीतिक प्रतिशोध राखेर आफूलाई असहयोग गरेको आरोप लगाउनुभयो । यो खबर आजको  नेपाल समाचारपत्रमा भूपराज बस्यालले लेख्ननुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय